इटहरी। वर्षा याममा पहिरोको जोखिमसँगै सडक क्षतिका कारण प्रभावित बनेको इलामको फिक्कल–अन्तु सडक पुनःनिर्माणपछि पर्यटक सवार ठुला सवारीसाधन सञ्चालन हुन थालेका छन् । 

गत बर्षको असोज १८ र १९ गतेको विपद्बाट क्षतिग्रस्त सडकमा पुनःनिर्माणको काम अघि बढेपछि अन्तु क्षेत्रमा पर्यटकको आवागमन सहज भएको हो । फिक्कल–अन्तु सडक खण्डमा आपतकालीन सडक पुनःस्थापनाको काम धमाधम हुँदैछ । बाढी पहिरोले सडक क्षति भएपछि उक्त क्षेत्रमा ठुला सवारी साधन सञ्चालनमा समस्या पर्दैआएको थियो । बार्षिक एक लाखभन्दा बढी पर्यटकले यात्रा गर्ने सडक खण्डको जोखिमयुक्त क्षेत्रमा सडक पुनःस्थापना र पहिरो नियन्त्रण गर्न २०८२ फागुनमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय इलामबाट एक करोड ६१ लाख ९१ हजार ६ सय ९ रुपियाँ ७३ पैसामा ठेक्का सम्झौता भइ पुनःनिर्माणको काम भएपछि अहिले पर्यटक बोक्ने ठुला सवारीसाधन सञ्चालन सुरु भएको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो ।  आयोजनाअन्तर्गत मुख्यगरी ४ मिटर स्पानका दुईवटा स्ल्याब कल्भर्ट निर्माण, प्लम कंक्रिट र ग्याबिन निर्माणको काम गर्नु पर्नेछ । दुई स्थानमा निर्माण गर्नुपर्ने स्ल्याब कल्भर्टमध्ये एउटा सम्पन्न भइसकेको छ । अर्कोको ७० प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर अर्जुन घिमिरेले बताउनुभयो । 

टेवा पर्खाल तथा ढल निकासका लागि गर्नुपर्ने पाँचसय ७६ दशमलव ४२ घनमिटर प्लम कंक्रिटको काम बाँकी रहेको छ । पहिरो तथा भिरालो जमिन स्थिरीकरणका लागि गर्नुपर्ने एक हजार नौसय ६२ घनमिटर ग्याबियन निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । सडक पुनः निर्माणको काम सम्पन्न हुँदै गर्दा निर्माण भएका संरचनाले साना–ठुला यातायातका साधन सञ्चालनमा सहज भएको पर्यटन व्यवसायी राम घिमिरेले बताउनुभयो । गत असोज १८ को विपत्तिले सडक क्षतिहुँदा अघिल्लो सिजनमा अन्तु क्षेत्रमा कम पर्यटक पुगेका थिए । जसलाई सहज बनाउन सरकारले दुईवटा ठेक्काबाट पुनः निर्माणको काम गरेको थियो । पुनः निर्माणका लागि दोस्रो ठेक्काबाट ३९ लाख ८० हजार खर्च गरिएको छ । जसमा टेवा पर्खाल तीनसय १८ घनमिटर र ग्याविन वाल ४५ घनमिटरको काम भएको छ । वर्षा याममा पहिरोबाट सडक अवरुद्ध हुने जोखिम रहेको फिक्कल–अन्तु सडक खण्ड समयमै पुनः निर्माणको काम भएपछि अहिले पर्यटक आवत–जावत सहज भएको छ । अन्तु क्षेत्र सूर्योदय नगरपालिका वडा नं. ४ र ५ मा अवस्थित सूर्योदय पर्यटनले प्रख्यात पर्यटकीय गन्तव्य हो । अन्तु क्षेत्रमा बार्षिक एक लाख बढी आन्तरिक र बाह्य पर्यटन भ्रमणका लागि पुग्ने गरेका छन् ।