इटहरी ।  नागरिकलाई आतङ्कित पार्नेगरी कुकुरमा रेबिज संक्रमण देखिएपछि फिदिम नगरपालिकाले खोप अभियान तीव्र पारेको छ। नगरपालिकाले हालसम्म ६२६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको जनाएको छ।

कुकुरको चाप बढी रहेको बजार क्षेत्र तथा वडा नं २ र ४ लाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको थियो । अहिले नगरपालिकाका १४ वटै वडामा शिविरमार्फत खोप दिने काम भइरहेको पशु सेवा प्राविधिक नारायणकुमार थापाले बताउनुभयो । मंगलबार वडा ११ मा आठवटा केन्द्रबाट खोप लगाइएको र बुधबार वडा १२ मा पाँचवटा केन्द्र तोकिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख मित्रप्रसाद काफ्लेले नगर क्षेत्रका सबै कुकुरलाई खोपको पहुँचमा ल्याएर रेबिज नियन्त्रण गर्ने प्रयास भइरहेको बताउनुभयो । अभियानमा नगरप्रहरी र पशु स्वास्थ्यकर्मी परिचालित छन्। पाँचथरका गाउँघरमा पछिल्लो समय बाँदरले बालीनाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । विशेषगरी वनजङ्गल छेउका गाउँमा बाँदर धपाउन तथा घर र बालीको सुरक्षाका लागि कतिपय परिवारले बाध्यताले दुई–तीन वटासम्म कुकुर पाल्ने गरेका छन् । बाली जोगाउन कुकुरलाई खुला छाड्नुपर्ने हुँदा अन्य कुकुर तथा रेबिज संक्रमित जङ्गली जनावरको सम्पर्कमा पुग्ने जोखिम बढेको छ।

यही कारण बाँदरबाट बाली जोगाउने कुकुर नै रेबिजको जोखिमको माध्यम बन्न सक्ने दोहोरो चुनौती ग्रामीण क्षेत्रमा देखिएको छ । घरधनीको सम्पर्कमा नआउने तथा छाडा रहेका कुकुरलाई नियन्त्रणमा लिएर खोप लगाउन कठिन भइरहेको प्राविधिक थापाले बताउनुभयो ।  खोप लगाउन छुटेका कुकुरलाई नियन्त्रणमा लिएर नगरपालिकामा ल्याउन उहाँले आग्रह गर्नुभयो । नगरपालिकासँग सातसय डोज खोपसहित आवश्यक जनशक्ति र साधनस्रोत रहेको जनाइएको छ । कुकुरलाई छाडा नछाड्न र सम्भव भएसम्म बाँधेर राख्न वडा २ का वडाध्यक्ष दिननाथ अधिकारीले आग्रह गर्नुभएको छ।

फिदिमसहित हिलिहाङ र फाल्गुनन्दमा समेत रेबिज संक्रमण देखिएको छ । संक्रमणको जोखिम सबैलाई रहे पनि संक्रमित कुकुरबाट जोगिन कठिन हुने वृद्धवृद्धा तथा बालबालिका थप जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी आवश्यक देखिएको छ । रेबिज संक्रमित स्याल, फ्याउरो लगायतका जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरबाट पशुचौपाया हुँदै मानिससम्म संक्रमण फैलिन सक्ने भएकाले नियमित खोप, कुकुरलाई नियन्त्रणमा राख्ने र समुदायस्तरमा सचेतना बढाउने काम आवश्यक देखिएको छ।