इटहरी : कोशी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले मन्त्री नियुक्त भएको भोलिपल्टै इटहरी–१९ स्थित सहिद स्मृति आवासीय विद्यालय पुगेर वृक्षारोपण गरेका छन्।
सोमबार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका आचार्य मंगलबार बिहान विद्यालय पुगेका हुन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणसँगै सहिद परिवारका सन्ततिको शिक्षाका विषयमा पनि चासो व्यक्त गरेका थिए। मन्त्री आचार्यले विद्यालयमा अध्ययनरत सहिद, बेपत्ता तथा घाइतेका सन्ततिसँग भेटघाट गरेका थिए।उनीहरूसँगको भेटमा आचार्यले सहिद तथा बेपत्ता परिवारका सन्ततिलाई राज्यले उपलब्ध गराउँदै आएको शिक्षा तथा संरक्षणका विषयमा समेत जानकारी लिएका थिए। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै उनले सहिदहरूले देखेको सपना र मुलुकका लागि गरेको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए।
सहिद परिवारका सन्ततिको शिक्षा र भविष्य निर्माणमा राज्यको जिम्मेवारी महत्वपूर्ण रहेको उनको भनाइ थियो। आचार्यले आफू प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले सहिदका सपना पूरा गर्ने दिशामा इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेशको विकाससँगै सहिद तथा बेपत्ता परिवारका समस्या समाधानमा पनि आवश्यक पहल गर्ने बताए। कार्यक्रममा कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको पनि सहभागिता थियो। मन्त्री नियुक्त भएपछि पहिलोपटक विद्यालय पुगेका आचार्यले विद्यालयको अवस्था, विद्यार्थीको आवश्यकता तथा भौतिक पूर्वाधारका विषयमासमेत जानकारी लिएका थिए।


