इटहरी । सुनसरीको इटहरीमा निजी क्षेत्रको करिब २० करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक व्यापारिक मल निर्माण भइरहेको छ। इटहरीको मुख्य बजार पश्चिम लाइनमा राजनीतिकर्मी तथा व्यवसायी राजकुमार गिरीको लगानीमा सिडीजी मल निर्माण भइरहेको हो।
इटहरीलाई किनमेल तथा व्यावसायिक गतिविधिको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मल निर्माण गरिएको गिरीले बताए। मल निर्माणमा हुने कुल लगानीको यकिन विवरण तयार भइनसके पनि करिब २० करोड रुपैयाँ हाराहारी वा केही बढी लगानी पुग्ने अनुमान गरिएको उनको भनाइ छ। निर्माण सामग्रीको मूल्यवृद्धि, लागत बढ्दै जानु तथा प्राविधिक कारणले प्रारम्भिक अनुमानभन्दा लगानी केही बढ्न सक्ने गिरीले बताए। निर्माण कार्य आगामी मङ्सिरसम्म सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य राखिएको भए पनि निर्माण सामग्रीको मूल्यवृद्धिलगायत कारणले समय केही लम्बिएको छ। अब आगामी फागुनसम्म निर्माण सम्पन्न गरी मल सञ्चालनमा ल्याउने लक्ष्य रहेको गिरीले जानकारी दिए। करिब चार कठ्ठा १८ धुर क्षेत्रफलमा निर्माण भइरहेको मलमा विभिन्न प्रकृतिका व्यावसायिक तथा सेवा क्षेत्रका संरचना रहनेछन्। मलभित्र बैङ्क, विभिन्न व्यापारिक शोरुम, पसल तथा अत्याधुनिक सुविधासम्पन्न होटल सञ्चालन गर्ने योजना रहेको छ। मलको प्रारम्भिक डिजाइनमा सबैभन्दा माथिल्लो भागमा स्विमिङ पुल निर्माण गर्ने योजनासमेत समेटिएको थियो। यद्यपि, निर्माणको क्रममा उक्त योजना परिवर्तन हुन सक्ने गिरीले बताए। मल सञ्चालनको आवश्यकता, संरचनागत अवस्था तथा व्यावहारिक पक्षलाई हेरेर स्विमिङ पुल राख्ने वा विकल्प खोज्ने विषयमा निर्णय गरिने उनको भनाइ छ।
इटहरीमा सवारीसाधनको चाप बढेसँगै पार्किङ समस्या पनि गम्भीर बन्दै गएको अवस्थामा मलमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ। उक्त पार्किङमा करिब ३० वटा चारपाङ्ग्रे सवारीसाधन तथा १०० भन्दा बढी मोटरसाइकल अट्ने क्षमता रहने गिरीले बताए। मुख्य बजार क्षेत्रमै व्यवस्थित पार्किङसहितको मल निर्माण भइरहेकाले सञ्चालनमा आएपछि पश्चिम लाइन क्षेत्रमा व्यापारिक गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ। ग्राहकले समेत एउटै स्थानबाट किनमेल, खानपान तथा विभिन्न सेवा सुविधा लिन सक्नेछन्। निर्माणाधीन मलको बुकिङसमेत खुला गरिएको गिरीले जानकारी दिए। बैङ्क, शोरुम, पसल तथा अन्य व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायी तथा कम्पनीका लागि बुकिङ खुला गरिएको उनले बताए। निर्माण सम्पन्न भएपछि इटहरीमा किनमेल, व्यवसाय, खानपान तथा मनोरञ्जनलगायत गतिविधिलाई एउटै व्यावसायिक परिसरबाट सञ्चालन गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। फागुनसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यअनुसार काम अघि बढिरहेको गिरीले बताए।


