इटहरी। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको छ । नेकपा चार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको हो । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको नाममा सहमति भएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री नियुक्त गर्दै सोमबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । सिफारिस अनुसार नयाँ नियुक्ति र कार्यविभाजनसँगै कोशी प्रदेशको मन्त्रीपरिषद् ११ सदस्यीय बनेको छ । नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्रीसहित नौ जना मन्त्री र दुई जना राज्यमन्त्री छन् । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको नेतृत्व गर्नुभएको छ । खिनु लङ्वा (लिम्बू) ले पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुलीले स्वास्थ्य, गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना, रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी र गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यस्तै उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीपरिषद् विस्तारसँगै प्रदेश सरकारमा तीन जना महिला सहभागी हुनुभएको छ । खिनु लङ्वा र गीता तिम्सिनामन्त्री तथा सपना दर्जी राज्यमन्त्री बन्नुभएको हो । मन्त्रीपरिषद् विस्तारसँगै प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने र बाँकी रहेका विकास तथा जनसेवासम्बन्धी कामलाई गति दिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । उहाँले छिट्टै विश्वासको मत लिने बताउनुभयो ।


