इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त शव निकालेको हो ।

महालक्ष्मी–२ स्थित हिलेखर्क बस्ने ३५ वर्षीय ओमबहादुर रानाको पैदल यात्राका क्रममा लडेर मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । उहाँका अनुसार अप्ठ्यारो भूगोलका कारण शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको थियो । दुई दिनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव निकालेको हो । शव निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि सफल हुन नसकेपछि नेपाली सेनाको सल्लेरीस्थित भीमदल गणबाट सेनानी मन्दीप राईको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार दिउँसो दुई दिनपछि शव घटनास्थलबाट निकालिएको हो ।

प्रहरीका अनुसार राना पैदल यात्राका क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।