इटहरी। ट्राफिक प्रहरीलाई चेकिङका क्रममा हातपात गरेको आरोपमा धरान उपमहानगरपालिका–११ का ३८ वर्षीय सोमप्रसाद राई पक्राउ पर्नुभएको छ ।
साउन ३० गते धरान–२, माछाभौडीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा राईले ट्राफिक प्रहरी प्रहरी सहायक निरीक्षक (प्रसनि) सुवास बिकलाई हातपात गरेको आरोप छ । घटनाबारे जानकारी पाएपछि प्रहरीले राईलाई बागमती प्रदेश ०६००९ प ८८३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिनुभयो ।
पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट साउन ३० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरी धरानस्थित प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।


