इटहरी । विश्व बन्धुत्व दिवसको अवसर पारेर तेह्रथुमको लालिगुराँस नगरपालिका–बसन्तपुरमा आयोजित विशाल स्वैच्छिक रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ।
समाज सेवा प्रभाग, ब्रह्माकुमारी राजयोगको आयोजनामा नगरपालिकाको पुरानो कार्यालय भवनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि लालिगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की रहनुभएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आवश्यक परेको समयमा बिरामीको जीवन रक्षा गर्न सकिने र यसले समाजमा आपसी सद्भाव बढाउने कुरामा जोड दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सर्वसाधारण नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा पुरुष तथा महिला सहभागीहरूले स्वेच्छाले रक्तदान गर्दै मानवीय सेवामा महत्त्वपूर्ण योगदान पु¥याएका छन्। संकलित कुल ५३ पिन्ट रगत वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित ब्लड बैंकमा पठाइएको छ।
ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, तेह्रथुमकी प्रमुख ब्रह्माकुमारी दिदीले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। रगतको अभाव न्यूनीकरण गर्न यस्ता सामाजिक अभियानले ठूलो सहयोग पु¥याउने सहभागीहरूले बताएका छन्।


