इटहरी : पब्जी खेलमा जितेको भर्चुअल डायमण्डको रकम असुल्ने क्रममा झापाका एक युवक अपहरणमा परेको खुलेको छ। झापा शिवसताक्षी नगरपालिका–१० माईघारका २६ वर्षीय नवीन रायलाई सात जनाको समूहले अपहरण गरी बन्धक बनाएर यातना दिएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका–२६ मित्रनगरमा बस्दै आएका राय ठमेलस्थित रोयल क्याफे एन्ड थकाली भान्छाघरमा कफी मेकरका रूपमा काम गर्दै आएका छन्। उनलाई साउन २८ गते कलंकीबाट अपहरण गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नागार्जुन नगरपालिका-५ छग्डोलबाट रायको उद्धार गरेको हो। उनलाई हातखुट्टा बाँधेर राखिएको अवस्थामा उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। प्रहरीका अनुसार अपहरणको मुख्य योजनाकार रामेछापको लिखु तामाकोशी गाउँपालिका-३ घर भई कलंकी बस्ने ३२ वर्षीय मनोज बुढाथोकी हुन्। बुढाथोकीको सामाजिक सञ्जालमार्फत रोहित नाम गरेका भारतीय नागरिकसँग चिनजान भएको थियो। रोहितले सामाजिक सञ्जालमा ‘डलर कार्ड लोड गरिदिन्छु’ भन्दै विज्ञापन गरेका थिए। पब्जीको ‘बुस्टिङ’मा प्रयोग हुने भन्दै डलरको मूल्य बढी दिने प्रलोभनमा उनले बुढाथोकीलाई ‘ट्रस्ट वालेट’ एप डाउनलोड गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि बुढाथोकीले रोहितलाई १८ हजार भर्चुअल मुद्रा ‘युसि क्वाइन’ पठाएका थिए। उनीहरूबीच भने प्रत्यक्ष भेटघाट भएको थिएन। प्रहरीका अनुसार पब्जी खेलमा बुढाथोकीले जितेको भर्चुअल डायमण्डबापत १२ लाख रुपैयाँ पाउनुपर्ने थियो।
रोहितले उक्त रकम युएसडीटीमा रूपान्तरण गरेर बढी रकम दिने बताएका थिए। डायमण्डको रकम डलर कार्डमा लोड गरिदिने भन्दै रोहितले आफूले एक युवक पठाउने बताएका थिए। त्यसपछि नवीनलाई कलंकीस्थित भेटघाट क्याफेमा पठाइएको थियो। त्यहाँ पुगेका नवीनलाई बुढाथोकीसहितको समूहले नियन्त्रणमा लिएर नागार्जुन पुर्याएको प्रहरीले जनाएको छ।डायमण्डबापत १८ लाख रुपैयाँ माग गर्दै उनीहरूले नवीनलाई हातखुट्टा बाँधेर यातना दिएका थिए। तर, नवीनको रोहितसँग कुनै आर्थिक लेनदेन नरहेको र आफूलाई त्यस्तो कारोबारबारे जानकारीसमेत नभएको एसएसपी खड्काले बताए। प्रहरीले अपहरणमा संलग्न बुढाथोकीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी-३ का प्रदीप पोखरेल, ओखलढुंगाको लिखु गाउँपालिका–५ का निमेश कार्की, काभ्रेको भुम्लुका देवकुमार श्रेष्ठ, सर्लाहीको लालबन्दीका जेनिश चौधरी, चितवनको राप्ती नगरपालिका–२ का अमित ओली र मकवानपुरको बागमती गाउँपालिकाका निशान रुम्बा छन्। नवीनलाई बुढाथोकी समूहसँग भेट्न पठाउने भारतीय नागरिक रोहित भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


