इटहरी। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो ।

खिजीदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डीआईजेड र आईकेआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढी लागतमा योजना सम्पन्न भएको हो । समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएको छ । विशेष जालीमा कुहिरोका कणबाट बनेका पानीका थोपा सङ्कलन गरी २०० लिटर क्षमताका ट्याङ्कीमा जम्मा गरिन्छ । त्यसपछि बायो–स्यान्ड फिल्टरमार्फत शुद्धीकरण गरी दुई हजार लिटर क्षमताको मुख्य ट्याङ्कीमा सङ्कलन गरेर स्थानीयलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाका अनुसार यस योजनाबाट सामतेन छोलिङ गुम्बा बौद्ध अध्ययन केन्द्रसहित आसपासका नौ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानीको समस्या समाधान हुनुका साथै सङ्कलित पानी स्थानीयले तरकारी खेतीमा सिँचाइका लागि समेत प्रयोग गर्न थालेका छन् ।

भौगोलिक कठिनाइ र प्राकृतिक पानीका स्रोतको अभावका कारण खानेपानीको समस्या रहेको क्षेत्रमा कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि उपयोगी बनेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधिबाट पानी उपलब्ध भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुगेको छ । कुहिरोमा रहेका सूक्ष्म पानीका कणलाई विशेष जालीमा सङ्कलन गरी पानीमा रूपान्तरण गर्ने प्रविधिलाई ‘फग हार्भेस्टिङ’ भनिन्छ । परम्परागत पानीका स्रोत सीमित भएका उच्च पहाडी क्षेत्रमा यो प्रविधिलाई वैकल्पिक खानेपानी व्यवस्थापनका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । खिजीदेम्बामा गरिएको यो परीक्षण सफल भएको मानिएको छ ।