इटहरी। ओखलढुङ्गा सदरमुकाममा ३९५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको मुख्य संरचनासहित अधिकांश काम सम्पन्न भएपछि बाँकी कामलाई तीव्रता दिइएको छ । निर्माणाधीन पुलमा घुमफिर तथा तस्बिर खिच्न स्थानीयको चहलपहलसमेत बढ्न थालेको छ ।
सदरमुकामलाई आसपासका क्षेत्रसँग जोड्नुका साथै पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट पाँच करोड २९ लाख रुपियाँको लागतमा ठेक्कामार्फत पुल निर्माण भइरहेको छ । पुल निर्माणका लागि आगामी पुस ९ गतेसम्मको समयसीमा तोकिएको भए पनि निर्माण कम्पनीले पाँच महिनाअघि नै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिएको ठेकेदारका प्रतिनिधि हर्क मल्लले बताउनुभयो । उहाँका अनुसार पुलको भारवहन क्षमता ११९ मेट्रिक टन रहेको छ । पुल निर्माण सम्पन्न भएपछि एकैपटक ८५३ जना पदयात्रीले ओहोरदोहोर गर्न सक्नेछन् । पुलको मुख्य संरचना तयार भइसकेको र अहिले बाँकी काम पूरा गर्ने चरणमा रहेको मल्लले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि ओखलढुङ्गा सदरमुकाम आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने अपेक्षा गरिएको छ । लामो झोलुङ्गे पुलबाट आसपासका प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले पुललाई पर्यटकीय पूर्वाधारका रूपमा समेत उपयोग गर्ने लक्ष्य राखिएको छ ।
पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउनुका साथै सदरमुकामको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी आन्तरिक पर्यटकलाई आकर्षित गर्न सके पुल आसपासका क्षेत्रमा स्थानीय उत्पादन, होटल तथा अन्य व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने सरोकारवालाको भनाइ छ । निर्माणस्थलमा बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाइएको र निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मल्लले बताउनुभयो ।सदरमुकामको हुलाक डाँडा र स्रष्टा पार्क जोड्ने गरी पुल निर्माण गरिएको हो ।


