इटहरी। रेबिज संक्रमण फैलिरहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई रेबिजविरुद्धको खोप सुरक्षित भण्डारणका लागि आवश्यक आइस लाइन्ड रेफ्रिजरेटर (आईएलआर) उपलब्ध भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सिफारिसमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले गाउँपालिकाको पशु सेवा शाखाका लागि एक थान आइएलआर रेफ्रिजरेटर उपलब्ध गराएको हो । आइएलआर खोप सुरक्षित राख्न प्रयोग हुने विशेष प्रकारको रेफ्रिजरेटर हो । निर्देशनालयका निर्देशक डा. सुनिलकुमार अधिकारीले रेबिज नियन्त्रण कार्यक्रमसँगै हाल देखिएको भविष्यमा हुनसक्ने महामारी र नियमित खोप कार्यक्रमका लागि आवश्यक कोल्ड चेन व्यवस्थापन गर्न रेफ्रिजरेटर उपलब्ध गराइएको बताउनुभएको छ । जस्ले विद्युत आपूर्ति केही समय अवरुद्ध भए पनि भित्रको तापक्रमलाई निश्चित समयसम्म २ देखि ८ डिग्री सेल्सियसको आसपास कायम राख्न मद्दत गर्ने प्राविधिकहरु बताउँछन् । खोपको प्रभावकारिता कायम राख्न आवश्यक तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले नियमित खोप कार्यक्रमका लागि आइएलआर महत्वपूर्ण उपकरण मानिन्छ ।
फाल्गुनन्द गाउँपालिकाका वडा ६ र ७ मा केही सातायता पशु चौपायामा रेबिज संक्रमण देखिएपछि दर्जनौँ पशुचौपाया मरेका छन । संक्रमणको जोखिम बढेको छ । गापालिकाले नियन्त्रणका लागि पशु तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । यसअघि खोप सुरक्षित राख्न आवश्यक कोल्ड चेन व्यवस्थापनको चुनौती रहेकामा आइएलआर उपलब्ध भएपछि गाउँपालिकामै खोप भण्डारण गर्न सहज हुने गाउँपालिकाको पशु विकास शाखाका प्रमुख डा. निमेश चौधरीले बताउनुभयो । यसले रेबिजविरुद्धको खोप अभियानलाई नियमित र प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँ बतानुहुन्छ ।


