इटहरी: अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा अपाङ्गता भएका युवालाई लक्षित गरी विराटनगरमा जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मूल भावनाका साथ लायन्स क्लब अफ विराटनगर, लायन्स क्लब अफ विराटनगर रेन्बो, लायन्स क्लब अफ विराटनगर मिड सिटी, लायन्स क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ विराटनगर नेक्स्ट जेनेरेसनले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा सहारा नेपाल (थ्री जिरो क्लब) ले प्राविधिक सहयोग गरेको थियो।

‘समावेशी समाजको परिकल्पना’ र ‘कोही पनि पछाडि नपरून्’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा अपाङ्गता भएका युवाको उल्लेख्य सहभागिता थियो।  कार्यक्रममा विराटनगर महानगरपालिकाअन्तर्गत अपाङ्गता भएका व्यक्तिको संस्था सामर्थ्य समाज, सामुदायिक पुनर्स्थापना केन्द्र विराटनगर, विभिन्न वडाका मिली-जुली समितिका युवा सदस्य तथा लायन्स क्लबका पदाधिकारी सहभागी थिए। लायन्स जिल्ला प्रथम उपाध्यक्ष रमेश खत्री, जोन २६ का जोन चेयरपर्सन शिवशंकर मण्डल तथा नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. विजय साहको पनि कार्यक्रममा उपस्थिति थियो। जलन विज्ञ तथा स्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले जलनसम्बन्धी सचेतना सत्र सञ्चालन गरेका थिए। उनले जलनबाट बच्ने उपाय, जलन भइहाले तत्काल अपनाउनुपर्ने प्राथमिक सावधानी तथा उपचारका विषयमा जानकारी दिए। त्यस्तै जेसीआई तालिम प्रशिक्षक सबिन अधिकारी र सहारा नेपालकी बिमला गुरुङले वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण दिएका थिए। सहभागीलाई आम्दानी र खर्च व्यवस्थापन, बचत, आर्थिक योजना तथा आत्मनिर्भर बन्न आवश्यक वित्तीय ज्ञानबारे जानकारी दिइएको थियो।

कार्यक्रमका लागि स्थान उपलब्ध गराउनुका साथै आवश्यक सहकार्य र समन्वय गरेकोमा नोबेल अस्पताल विराटनगरलाई आयोजकले धन्यवाद दिएका छन्। लायन्स क्लब अफ विराटनगर रेन्बोकी अध्यक्ष आकृति रानी फुयलले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा अपाङ्गता भएका युवालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको बताइन्। उनले अपाङ्गता भएका युवालाई आवश्यक ज्ञान, सीप र अवसरसँग जोड्दै समावेशी समाज निर्माणमा योगदान पुर्‍याउनु कार्यक्रमको उद्देश्य रहेको बताइन्। उनका अनुसार ‘समावेशी युवा, समावेशी समाज’ निर्माणका लागि अपाङ्गता भएका युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिन आवश्यक छ। कुनै पनि युवा पछाडि नपर्ने वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताइन्। कार्यक्रमले अपाङ्गता भएका युवामा जलनसम्बन्धी सचेतना, वित्तीय ज्ञान, आत्मनिर्भरता र सामाजिक सहभागिता बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।