इटहरी : अनलाइन सट्टाबाजीको आरोपमा तीन महिनाअघि बिर्तामोडबाट पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्।
मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। अनलाइन सट्टाबाजीसँगै दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता गरिएको थियो। मुद्दाको सुनुवाइका क्रममा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो भने मेचेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। प्रहरीले गिरीलाई बिर्तामोड नगरपालिका–५ स्थित गो ६९ क्याफेबाट र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट पक्राउ गरेको थियो।
पक्राउपछि उनीहरूमाथि अनलाइन माध्यमबाट सट्टाबाजी सञ्चालन तथा त्यससँग सम्बन्धित आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत जोडिएपछि उनीहरूमाथिको अनुसन्धान थप विस्तारित बनेको थियो। अदालतको पछिल्लो आदेशसँगै गिरी धरौटीमा बाहिरिएका छन् भने मेचे मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि कारागारमा रहनेछन्। अनलाइन सट्टाबाजी तथा त्यसबाट हुने आर्थिक कारोबारमाथि प्रहरीले पछिल्लो समय निगरानी बढाउँदै आएको छ। विशेषगरी डिजिटल माध्यमबाट हुने सट्टाबाजीमा संलग्न व्यक्ति तथा त्यसका लागि प्रयोग हुने आर्थिक कारोबारको अनुसन्धानलाई प्रहरीले प्राथमिकतामा राखेको छ।


