इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसको अवसरमा तेह्रथुममा आयोजित विशेष समारोहमा पत्रकार द्वय मनोज कुङ्बा र राजकुमार तेयुङ तारेबा सम्मानित हुनुभएको छ ।
फोनिज जिल्ला कार्यसमिति तेह्रथुमको आयोजनामा सम्पन्न तारा बहादुर कन्दङ्वा फोनिज पत्रकारिता पुरस्कार–२०८३ तथा फोनिज मातृभाषा पत्रकारिता सम्मान अर्पण समारोहमा पत्रकारद्वयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पत्रकारिता क्षेत्रमार्फत समाजमा पु¥याएको योगदान र मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा खेलेको भूमिकाको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको जनाइएको छ ।
मातृभाषामा पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै स्थानीय भाषा, संस्कृति र समुदायका आवाजलाई सञ्चारमाध्यम मार्फत उजागर गर्न यस्ता सम्मानले थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमको सभाध्यक्षता फोनिज तेह्रथुमकी अध्यक्ष बबिता राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुना कार्की सुवेदीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । फोनिजको स्थापना दिवसका अवसरमा प्रदान गरिएको उक्त सम्मानले मातृभाषा, पहिचान, संस्कृति र समुदायका मुद्दालाई पत्रकारिता मार्फत उठान गर्ने पत्रकारहरूलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।


