इटहरी: झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् ।
नगरपालिकाले गत असार ८ गतेदेखि स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेपछि जग्गापास, रोक्का, कित्ताकाट तथा धनीपुर्जा वितरणको काम हुँदै आएको हो । नगरपालिकाको भूमि प्रशासन शाखाका प्रमुख बद्रीकुमार दाहालका अनुसार सेवा सञ्चालनमा आएयता हालसम्म ९७ वटा जग्गापास तथा रोक्कासम्बन्धी काम सम्पन्न भएका छन् । स्थानीय तहबाटै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीलाई मालपोत कार्यालय धाउनुपर्ने बाध्यता घटेको छ । ‘भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी काम भइरहेको छ ।
नगरपालिकाले भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण, जग्गापास, रोक्का र कित्ताकाटलगायतका सेवा दिँदै आएको छ । सेवा सञ्चालनका लागि नगरपालिकाले १३ जना कर्मचारी परिचालन गरेको जनाएको छ ।नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले लामो प्रयासपछि स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउन सकिएको बताए । सेवा स्थानीय तहबाटै सुरु भएपछि नगरवासीले छिटो र सहज रूपमा सेवा पाउन थालेको उनको भनाइ छ ।

