झापा : झापाको दमकमा प्रहरीले ६ ग्रामभन्दा बढी लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब निरीक्षक खगेन्द्र डाँगीको कमाण्डमा खटिएको प्रहरी टोलीले थापाको कोठामा खानतलासी गर्दा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार कोठाबाट डिजिटल तराजु एक थान र नगद १४ हजार ५ सय रुपैयाँसमेत बरामद भएको छ । थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दमकबाट करिब साढे तीन किलोमिटर उत्तरपश्चिममा पर्छ।


