इटहरी। सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया–कटारी सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका विभिन्न चार वटा पक्की पुल निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारण यात्रुलाई सास्ती भएको छ । 

पूर्वनिर्धारित समयममा पुल बनाउने काम सम्पन्न नहुने निश्चित भएपछि  सडकबाट  कटारी हुँदै हिमाली जिल्ला सोलुखुम्बुलगायत उच्च पहाडी क्षेत्रमा अवस्थित ओखलढुङ्गा र खोटाङ जिल्लासम्म जाने जोसुकैलाई सडकयात्राका व्रmममा निकै सास्ती हुने गरेको हो ।  ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको छ । बजेट अभावका कारण समयमा काम सम्पन्न गर्न आयोजना कार्यालयलाई अप्ठ्यारो भएको हो । सिद्धिचरण लोकमार्ग अन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक आयोजना कार्यालयका अनुसार कटारी नगरपालिका–२ र ३ का गिद्धवरखोला, कल्याणपुरखोला, ताराघारीखोला र खोक्साखोलामा निर्माणाधीन विभिन्न चार वटा पक्की पुल निर्माण सम्पन्न हुन नसकेको हो ।  उक्त योजना कार्यालय कटारीका सूचना अधिकारी तथा इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार चार वटै पुल निर्माणको ठेक्का धरानस्थित सूर्य एन्ड सन्स प्रालिले २०७९ असार २९ गते सम्झौता गरेको हो । कम्पनीले २०८२ असोज २९ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि सरकारले पर्याप्त बजेट निकासा नगराउँदा योजनाको लक्ष्य अनुसार काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षसम्म पुल निर्माणमा १४ करोड ४५ लाख ५७ हजार ४२१ रुपियाँ खर्च भइसकेको छ । चालु आव २०८३/८४ का लागि भने वर्तमान सरकारले नौ करोड २० लाख रुपियाँ मात्रै बजेट विनियोजन गरेको इन्जिनिएर महतोले बताउनुभयो । 

अघिल्लो आव पुल निर्माणका लागि आठ करोड रुपियाँ बजेट छुट्याइएकोमा यस वर्ष बजेट बढेर नौ करोड २० लाख रुपियाँ पुगे पनि रकम निर्माण सम्पन्न गर्न पर्याप्त नभएको महतोले बताउनुभयो । चार वटै पुल निर्माणका लागि भ्याटसहित २८ करोड ९९ लाख ५२ हजार रुपियाँमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।  यो सडकखण्डमा रहेका खोलामा पुल निर्माणमा भएको ढिलासुस्तीले बर्सातको समयमा लामो दुरीका यात्रुलाई बाढीले घन्टौँसम्म बाटो अवरुद्ध बनाउँदा समयमा गन्तव्यमा पुग्न नसक्दा अनेकौँ समस्या झेल्नुपर्ने र हिउँदका समयमा वैकल्पिक रूपमा बनाइएको सडकमा धुवाँ र धुलोले सासै फेर्न नसकिएर निस्सासिँदो अवस्था उत्पन्न हुने गरेको स्थानीय बद्री पौडेलले बताउनुभयो ।