इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरी प्रतिको जनविश्वास बढाउनुका साथै शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताउनुभएको छ ।
मंगलवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै खनालले ट्राफिक दुर्घटना न्यूनिकरण, सामाजिक संजाल तथा र्साईबर अपराध नियन्त्रण, खुला सिमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन र ओसारपोसार अत्यन्त भयावह ढंगले बढिरहेकोले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो । डिआइजी घिमिरेले पत्रकारहरु संगको सम्बन्ध र आलोचनात्मक सुझावहरुलाई आत्मसात गर्दै समन्वय र सहकार्य गरेर शान्ति सुरक्षा मजबुत बनाउने पनि योजना रहेको बताउनुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी बहन गर्न सरुवा भएर आउनु भएका प्रहरी नायब महानिरीक्षक खनालले खुला सिमा, सामाजिक संजालको दुरुपयोग, साइबर ठगी जस्ता समस्याहरु कोशी प्रदेशमा रहेको पाएको बताउनु भयो । उहाँले कोशी प्रदेशको शान्ति सुरक्षाका साथै अन्य समस्याहरुलाई राजनैतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायीहरुको सहयोगमा सुधार गर्दै लैजाने लक्ष्य राखेको बताउनु भयो ।


