इटहरी । तेह्रथुमको बसन्तपुर देखि केही किलोमिटर दूरीमा रहेको सखुवासभाको धर्मदेवी नगरपालिका–३, ओख्रे गाउँ आसपासका दुई पर्यटकीय स्थल संरक्षण र प्रचार–प्रसारको अभावमा जीर्ण बन्दै गएका छन् ।

बसन्तपुरबाट सखुवासभातर्फ जाने सडकखण्डमा पर्ने देउराली क्षेत्र नजिकैको गित्रेमा रहेको ठेकी पार्क र खर्कमा रहेको मेलमिलाप पार्क निर्माणका हिसाबले आकर्षक भएपनि उचित संरक्षण र प्रचार–प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्दै गएका हुन् ।स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काउने उद्देश्यले निर्माण गरिएका यी पार्कमा कलात्मक शैलीमा बनाइएका ठेकी, स्तम्भ तथा मानव आकृतिका विभिन्न संरचनाहरू रहेका छन् । तर पार्क निर्माण पछि नियमित मर्मत सम्भार, सरसफाइ र प्रचार–प्रसारमा पर्याप्त ध्यान नदिँदा अहिले ती संरचनाहरू जीर्ण बन्न थालेका छन् । पार्क क्षेत्रमा झाडी बढ्दै गएको छ । विभिन्न संरचनामा गरिएको रङरोगन समेत उडिसकेको छ। कतिपय संरचना भत्किने अवस्थामा पुगेका छन् भने पार्क परिसरको सौन्दर्य समेत क्रमशः हराउँदै गएको देखिन्छ ।

स्थानीयवासीका अनुसार निर्माणका बेला आकर्षणको केन्द्र बनेका यी पार्क अहिले भने स्थानीयबाहेक बाहिरी पर्यटकका लागि खासै परिचित हुन सकेका छैनन् । पार्क सम्म पुग्ने बाटो आसपास तथा मुख्य सडकबाटै देखिने गरी पर्याप्त सूचना तथा होडिङ बोर्ड नराखिँदा पनि पर्यटकलाई पार्कबारे जानकारी पाउन कठिन हुने गरेको छ । स्थानीय पर्यटनको सम्भावना बोकेका यी पार्कको उचित संरक्षण र प्रचार–प्रसार गर्न सके  यहाँ पनि पर्यटकको आकर्षण बढाउन सकिने स्थानीयको भनाइ छ । संरचनाहरूलाई समयमै संरक्षण गर्न नसके आगामी केही वर्षमै यसको मौलिक स्वरूप हराएर नाम मात्रको पार्क बन्न सक्ने चिन्ता स्थानीयमा छ ।

स्थानीय तहले पार्कको वर्तमान अवस्थाबारे अध्ययन गरी आवश्यक मर्मतसम्भार, सरसफाइ र संरक्षणको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ । साथै  भौतिक संरचना निर्माण गरेर मात्रै पर्यटकीय गन्तव्यको विकास नहुने भएकाले निर्माण भएका सम्पदाको संरक्षणसँगै निरन्तर प्रचार–प्रसार र व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।

स्थानीय कला, संस्कृति र मौलिकता झल्काउने ठेकी पार्क र मेलमिलाप पार्कलाई समयमै संरक्षण र प्रचार गर्न सकिए यस क्षेत्रकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर सम्बन्धित निकायले बेवास्ता गर्दै जाने हो भने अहिले आकर्षण बनेका संरचनाहरू नै केही वर्षभित्र भग्नावशेषमा परिणत हुने जोखिम देखिन्छ।