इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर सुरु भएको छ ।

गाउँपालिकाको वडा नं. २ लुङ्गिन स्थित शिवालय प्राथमिक विद्यालयबाट शुरु भएको आँखा र कानको समस्या पहिचान तथा उपचार सम्बन्धि अभियान आगामी असोज २५ गते सम्म सञ्चालन हुने भएको हो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी र ४० वर्ष उमेर समूह माथिका नागरिकलाई लक्षित गरिएको छ ।

प्रत्येक वडामा तालिकाबद्ध दुई महिना सम्म सञ्चालन हुने उक्त शिविरमा अन्य जुनसुकै उमेर समुहका नागरिकले पनि परिक्षण गर्न पाउने हतुवागढी गाउँपालिकाले जनाएको छ । परिक्षणका क्रममा नजिकको दृष्टिमा आँखाको समस्या देखिएमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारबाट निशुल्क चस्मा प्रदान गरिने विराटनगर आँखा अस्पतालका नेत्र सहायक श्रीनारायण साहले जानकारी दिनुभयो ।

स्वास्थ्य आँखा सुन्दर संसार अभियान अन्तर्गत सञ्चालित शिविरमा आँखा पाकेको, आँखाको सुख्खापन, आँखाको एलर्जी लगायतका समस्याहरुको परिक्षण स्थलबाट निशुल्क औषधी वितरण गरिनेछ भने परिक्षणका क्रममा शल्यक्रिया गर्ने किसिमको मोतियाविन्दु भएको पाइएमा प्रत्येक वडाबाट नामावली संकलन पछि शल्यक्रिया शिविर आयोजना गरिने जनाइएको छ ।