झापा : झापामा सशस्त्र प्रहरीले एक वर्षको अवधिमा १३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ९ लाख १८ हजार ४४१ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको हो । भारतसँगको खुला सीमाका कारण हुने अवैध ओसारपसार नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट ती सामान बरामद गरेको जनाएको छ । सोही अवधिमा १ करोड ४२ लाख ११ हजार ८८ रुपैयाँ मूल्य बराबरको अवैध काठसमेत बरामद भएको छ । काठ ओसारपसारमा प्रयोग भएका आठवटा सवारीसाधनसहित १ हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिए । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ८० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर २५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
लागूऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले कारबाही तीव्र बनाएको जनाएको छ । एक वर्षमा लागूऔषध कारोबारमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा १३५ पुरुष र १३ महिला छन् । कारबाहीका क्रममा ३२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीले १ हजार ७९० ग्राम गाँजा, ८२३ ग्राम ३४९ मिलिग्राम ब्राउन सुगर, नौवटा इन्जेक्सन र ४४ पत्ता ट्याब्लेटसहित ३८ हजार थान लागूऔषधजन्य सामग्री बरामद गरेको गणले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने चोरीपैठारी, अवैध उत्खनन् र लागूऔषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाएको जनाएको छ।

