इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा गम्भीर घाइते अमित यादवको बायाँ हात काट्नुपरेको छ। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको अस्पताल प्रशासनले जनाएको छ। घटनाका क्रममा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो। विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो। कप्तानगञ्ज गोलीकाण्डमा घाइते भएका आठ जनाको उपचार अझै जारी छ। तीमध्ये दुई जनाको काठमाडौं र छ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यसअघि उपचारकै क्रममा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको गोली लागेको बायाँ खुट्टा काटिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई विराटनगरबाट एयर एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको थियो। गोली लाग्दा उनको बायाँ तिघ्राको नसामा गम्भीर क्षति पुगेको चिकित्सकले बताएका थिए। विराटनगरस्थित न्युरो अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ। देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लागेको थियो। शल्यक्रियामार्फत गोली निकालिएपछि उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

सोही अस्पतालमा उपचाररत देवानगञ्ज–४ का २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भागमा गोली लागेको थियो। उनको शल्यक्रिया सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा गोली लागेको थियो। उनको पनि शल्यक्रिया सफल भएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यस्तै, विराट नर्सिङ होममा तीन जना घाइतेको उपचार भइरहेको छ। देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहताको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको थियो। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादवको कम्मरको अगाडिबाट गोली प्रवेश गरी पछाडिबाट निस्किएको थियो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। देवानगञ्ज–४ कै २६ वर्षीय सुनील मेहताको बायाँ कुहिनामा गोली लागेको थियो। उनको शल्यक्रिया सम्पन्न भइसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।