इटहरी। साँगुरीगढी गाउँपालिका–७ स्थित डढुवागाउँ पहिरोको उच्च जोखिममा छ । करिब २७ परिवारको बसोबास रहेको डढुवाको दुवैतर्फ पहिरो छ । २०५६ सालबाट सुरु भएको गाउँको पूर्वतर्फको पुरानो पहिरोले यसअघि नै सात परिवार विस्थापित भइसकेका छन् । अहिले भने पूर्वतर्फको पहिरो केही कम भएको छ तर २०७५ सालदेखि गाउँको पश्चिमतर्फबाट पनि अर्को पहिरो सुरु भयो । यो पहिरोका कारण गाउँको केही भाग विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा रहेको स्थानीय देवेन्द्र राई भन्नुहुन्छ । पालिकाको वडा नं. ६ स्थित मजुवागाउँमा पनि उस्तै समस्या छ । गाउँको दुवैतर्फका केही भागमा पहिरो झरिरहेको छ । यो गाउँलाई उत्तरतर्फ तथा पुछारबाट पहिरोले घेरेको छ । पहिरोका कारण करिब १० परिवार जोखिममा रहेको वडाध्यक्ष दीपक मगर बताउनुहुन्छ । मजुवागाउँसम्म पुग्ने सडकसमेत पहिरोको जोखिममा परेको उहाँको भनाइ छ । साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा रहेका छन् । १० वडा रहेको यो पालिकाका धेरै स्थानमा पहिरोको जोखिम छ । अहिले गाउँपालिकाका दुई दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम छ । यसमध्ये एक दर्जनभन्दा बढी स्थानको पहिरोले बस्तीलाई असर गर्दै आएको छ । तुलनात्मक रूपमा वडा नं. १, ५, ६, ७ र १० मा बढी समस्या रहेको पालिकाका प्राविधिक दीपक राई बताउनुहुन्छ । उहाँका अनुसार अहिले पालिकाभरि १२० परिवार पहिरोको जोखिममा रहेका छन् । त्यस्तै एक दर्जनभन्दा बढी परिवार यसअघि नै विस्थापित भइसकेका छन् ।
जिल्लामै सबैभन्दा बढी पहिरोको जोखिम रहेको यो पालिकामा जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत गरिँदै आएको छ । पहिरोका कारण अति जोखिममा परेका परिवारलाई स्थानान्तरणको प्रव्रिmया अगाडि बढाइएको छ । पहिरो तथा भूक्षय रोक्न वृक्षरोपण, पर्खाल लगाउने कार्य गरिरहेको पालिकाको भनाइ छ । त्यस्तै पालिकाले पालिकाको जोखिमपूर्ण अवस्था अध्ययनसमेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । पालिकाले पहिरो प्रभावित क्षेत्रमा भूगोलविद्समेत ल्याएर अध्ययन गराएको छ । कच्चा पहाड, भिरालो जमिन, खोलानालाका कारण पहिरो र भूक्षयको समस्या बढेको जानकार बताउँछन् । त्यसमा पनि पछिल्लो समय जथाभाबी खनिएका सडकले समेत पहिरोको जोखिम थपिएको छ । जिल्लाको दक्षिण भागमा महाभारत पर्वत शृङ्खलामा गर्ने यो पालिकाको भूबनोट नै माथिल्ला पहाडभन्दा कमजोर रहेको बताइएको छ ।


