इटहरी। खोटाङको दिक्तेलबाट १९ वर्षको उमेरमा वैदेशिक रोजगारमा दुबई गएका रामकुमार दाहाल अब विदेश नजाने; बरु केराको दाम्चाबाट रेसा निकालेर गाउँमै खाडीको कमाइ खोजिरहनुभएको छ ।  वैदेशिक रोजगारमा १६ वर्ष दुबई, कतार र इराकमा काम गर्नुभएका दाहाल अहिले ३६ वर्षको हुनुभयो । २०८१ सालको दसैँमा घर फर्केपछि स्वदेशमै केही उद्यम गर्ने मनसायले उहाँ खेर गएका केराका थामबाट रेसा निकाल्ने उद्यममा लाग्नुभएको छ । विदेशको कमाइले मोरङको कानेपोखरी–७, चालिस बिघेमा आठ कट्ठा घरखेत जोडेका दाहाल अहिले सोही स्थानमा केराको दाम्चाबाट रेसा (धागो) निकालेर बिक्री गरिरहनुभएको छ । उहाँले शारदा धागो लघु उद्योग दर्ता गर्नुभएको छ । तीन लाख खर्च गरेर किनेको मेसिनले अढाई लाख रुपियाँको धागो उत्पादन गरिसकेको छ ।  गाउँमा वरिपरि सय बिघाभन्दा बढी जग्गामा केरा खेती हुने गरेको छ । त्यहीँबाट थाम ल्याएर धागो निकालेका दाहालले हाल आफैँ एक बिघा जग्गा लिजमा लिएर केरा खेती लगाउनुभएको छ 

थाम ल्याएर दाम्चा निकाल्दै मेसिनमा हाल्नु पर्छ । त्यसपछि घाममा सुकाउनु पर्छ । दाहालका अनुसार रेसाको बजारमूल्य प्रतिकेजी १५० रुपियाँ छ । २०८१ माघदेखि हालसम्म एक हजार सात सय किलो रेसा बिक्री गरिसकेको दाहालले जानकारी दिनुभयो । सुरुका दिनमा दुई जना कामदार राखेर रेसा निकाल्नुभएका दाहालले मौसम प्रतिकूल भएपछि परिवारका सदस्यले मात्र काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घाममा मज्जाले नसुकाए कुहिन सक्छ । मौसम अनुकूल भएपछि कामदार राखेर नेपाली कागज र कम्पोस्ट मल उत्पादन गर्ने तयारी गरिरहेको छु । १८ महिनाको अनुभवले महिनाको ४०÷४५ हजार रुपियाँ कमाउन विदेश गइरहनु नपर्ने रहेछ, भन्नेमा पुगेको छु,” उहाँले भन्नुभयो । रेसा निकाल्ने उद्योगसँगै नेपाली कागज बनाउने उद्योग सञ्चालन गर्न उहाँले थप साढे १३ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।

एउटा नचले अर्को उद्योग चल्न सक्छ भनेर दुईतिर लगानी गरेको रामकुमारको भनाइ छ । त्यसो त पासपोर्ट थन्क्याएर स्वदेशमै उद्यम गर्ने सपना देखिरहनुभएका दाहालले आठ÷१० माउबाख्रा, कुखुरासमेत पाल्नुभएको छ । घरअगाडि सानो फ्रेस हाउससमेत सञ्चालन गरेका दाहालले भन्नुभयो उहाँले पाँच कट्ठामा सुपारी लगाउनुभएको छ । सुपारीको खपटाबाट थाली बनाउने उद्योग सञ्चालनका लागि उहाँले अहिलेदेखि नै पूर्वतयारी गरिरहनुभएको छ । काम गर्ने कामदार नपाउँदा उहाँलाई फेरि खाडीतिर गइहाल्नु जस्तो हुन्छ । यद्यपि २०/२२ लाख रुपियाँ लगानी भइसकेकाले उहाँ चौबिसै घण्टा आफैँ खटेर काम गरिरहनुभएको छ ।