इटहरी । मोरङको सुन्दरहरैंचामा ३२ औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, ¥याली तथा सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गनुृभएको थियो । कार्यक्रमको अध्यक्षता महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजम्बर राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि समुदाय स्वयं सचेत र संगठित हुनुपर्ने बताउनुभयो । त्यस्तै, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा स्थानीय तहको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वप्रदेश सांसद लोकप्रसाद संग्रौला, नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका सल्लाहकार देवराज तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दिवसका अवसरमा राष्ट्रिय कलाकार बबिना किराँती, ‘द भ्वाइस किड्स’की फाइनलिस्ट कबिना राई लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक संस्कृति, भेषभूषा, कला र परम्परा झल्काउने वृहत् झाँकी तथा ¥यालीसमेत प्रस्तुत गरिएको थियो। सुन्दरहरैंचामा गुरुङ, मगर, तामाङ, राई, लिम्बू, सुनुवार, नेवार, थारू, राजवंशी, धिमाल, माझी, बोटे लगायत विभिन्न आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । ती समुदायले आफ्ना मौलिक भाषा, संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन्। विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र सम्मानका लागि ऐक्यबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा विविधताभित्रको एकता, समान सहभागिता र बहुसांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।


