धरान : सुनसरीका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास उद्योग तथा डिलरको अनुगमन थालेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा खटिएको टोलीले इनरुवा, इटहरी, दुहबीलगायत क्षेत्रमा रहेका ग्यास डिलरको अनुगमन गरेको हो। अनुगमनका क्रममा डिलरहरूले ग्यास लुकाएर कालोबजारी गरेको नपाइएको प्रशासनले जनाएको छ। सुनसरीमा रहेका तीन ग्यास उद्योगमध्ये कामाख्या ग्यास उद्योगबाट निरन्तर ग्यास रिफिलिङ तथा बिक्री वितरण भइरहेको छ। प्रिमा र सुविधा ग्यास उद्योगमा भने हाल रिफिलिङ रोकिएको प्रशासनले जनाएको छ। रिफिलिङ रोकिएका उद्योगमा समेत आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र ग्यास बुलेट आयात गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। उनले बजारमा ग्यास अभावबारे अनावश्यक हल्ला फैलिएको भन्दै उपभोक्तालाई आत्तिनुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार एउटामात्र सिलिन्डर भएका परिवार तथा विद्यार्थीलाई केही असहज अवस्था भए पनि जिल्लामा ग्यासको ठूलो संकट नरहेको प्रशासनको निष्कर्ष छ।

आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभावजस्तो अवस्था देखिएको निरौलाले बताए। उनले ग्यास डिलरलाई एकपटकमा एक परिवारलाई एउटा मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए। यसैबीच, धरान उपमहानगरपालिका र इलाका प्रशासन कार्यालयको संयुक्त टोलीले धरान बजारमा पनि ग्यासको अवस्थाबारे अनुगमन गरेको छ। धरानमा दैनिक न्यूनतम १ हजार ५ सयदेखि २ हजारसम्म ग्यास सिलिन्डर आउने गरेको भए पनि वितरण प्रणाली व्यवस्थित नहुँदा र उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चित गर्दा अभाव देखिएको उपमहानगरपालिकाको बजार व्यवस्थापन शाखाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए। अनुगमनपछि आधिकारिक ग्यास डिलरबाहेक अन्य खुद्रा तथा किराना पसलबाट ग्यास बिक्री वितरण नगर्न व्यवसायीलाई निर्देशन दिइएको सापकोटाले जानकारी दिए। प्रशासनले ग्यासको वास्तविक आपूर्ति अवस्था बुझेर वितरण प्रणाली व्यवस्थित गर्न तथा कृत्रिम अभाव सिर्जना हुन नदिन डिलरलाई सचेत गराएको जनाएको छ।