मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको क्रसर तथा अलकत्रा प्लान्ट बन्द वा स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन्। एशियन हाइवे निर्माण गरिरहेको टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर तथा अलकत्रा प्लान्ट सञ्चालन गर्दा धुलो, धुवाँ र प्रदूषणका कारण जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर परेको भन्दै डाँडागाउँ टोलवासीले ध्यानाकर्षण गराएका हुन्।  करिब ५० घरपरिवार बसोबास गर्ने डाँडागाउँको पश्चिमतर्फ रोडा, ढुंगा उत्पादन तथा सम्बन्धित कारोबार गर्ने क्रसर र अलकत्रा प्लान्टसहितको उद्योग २०८१ सालदेखि सञ्चालनमा रहेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार उद्योग सञ्चालन गर्दा आवश्यक अनुमति तथा निर्धारित मापदण्ड पूरा नगरिएको हो।

उद्योगबाट निस्कने धुलो र धुवाँका कारण टोलको वातावरण प्रदूषित बनेको र वृद्धवृद्धा तथा बालबालिकासहित स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन्। उद्योगका कारण आँखामा समस्या, कान दुख्ने, श्वासप्रश्वासमा समस्या, दम तथा छालासम्बन्धी समस्या देखिन थालेको स्थानीयको दाबी छ। उद्योग स्थानान्तरण नहुँदा आफूहरू धुलो र धुवाँयुक्त वातावरणमा बस्न बाध्य भएको उनीहरूको गुनासो छ। निर्माणसम्बन्धी मापदण्डअनुसार स्थानीय बस्तीको बीचमा क्रसर तथा अलकत्रा प्लान्ट सञ्चालन गर्न नहुने र यस्ता उद्योग बस्तीबाट कम्तीमा २ किलोमिटर टाढा हुनुपर्ने स्थानीयको भनाइ छ। साथै, उद्योग सञ्चालन गर्नुअघि स्थानीयको स्वीकृति लिनुपर्ने प्रावधानसमेत रहेको उनीहरूले बताएका छन्।

मापदण्ड पूरा नगरी बस्तीको बीचमा अलकत्रा प्लान्ट सञ्चालन गर्नु गलत भएको भन्दै स्थानीयले तत्काल बन्द वा अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन्। टोलवासीका अनुसार उक्त उद्योगका कारण स्थानीयको जनस्वास्थ्यमा परेको असरलाई बेवास्ता गर्दै केही व्यक्ति वा संस्थाको स्वार्थमा परिवर्तन टोल विकास संस्थाले गरेको सम्झौता मानव हितविपरीत छ। यस विषयमा वडा कार्यालय र सुन्दरहरैँचा नगरपालिकाको समेत ध्यानाकर्षण गराउने तयारी स्थानीयले गरेका छन्। डाँडागाउँ टोलकी स्थानीय सानु कार्की बस्नेतले मापदण्डविपरीत सञ्चालनमा रहेका यस्ता उद्योगका कारण गाउँबासीको जनस्वास्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रभावित भएको बताइन्। उनले वडा कार्यालयले समेत मापदण्ड पूरा नगरेका उद्योग स्थापनाका लागि सिफारिस नगरी त्यस्ता उद्योग बन्द वा स्थानान्तरणका लागि पहल गर्नुपर्ने बताइन्।