मोरङ । मोरङको लेटाङ–राजारानी–साग्मा डाँडा सडक अन्तर्गत लेटाङ–१ को राजारानीसम्म मदन भण्डारी राजमार्ग जोड्ने सडक असोज मसान्तसम्ममा निर्माण सम्पन्न हुने भएको छ ।  मदन भण्डारी राजमार्गको लेटाङ–२, किराँत चोकदेखि लोखरासम्म दुई किलोमिटर सडक कालापत्रो भइसकेको छ भने बाँकी चुरेक्षेत्रमा धमाधम काम भइरहेको छ । २०७९ सालमा तत्कालीन सरकारले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजना कार्यव्रmम अन्तर्गत यो सडक २०७९ वैशाख १९ गते सडक डिभिजन कार्यालय विराटनगरले ठेक्का लगाएको थियो ।   सडक डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर नारायणप्रसाद निहुरेका अनुसार ५.७ किलोमिटर सडक ११ करोड ३२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलेको सम्झौता अनुसार २०८१ चैत ३० गते सडक निर्माण गरिसक्नुपर्ने थियो तर निर्माण कम्पनी कालिका÷मेदान्सी जेभी काठमाडौँले निर्धारित समयमा निर्माण सम्पन्न गर्न सकेन । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर निहुरेले भन्नुभयो, कार्यालय प्रमुख निहुरेका अनुसार सडकको कालोपत्रे चौडाइ सात मिटर तथा दुवैतर्फको सोल्डरसहित कुल चौडाइ १० मिटर रहने छ । साथै रिटेनिङ वाल, ब्रेस्ट वाल, नाली निर्माण, सबबेस, बेस र अस्फाल्ट कार्यका साथै डेलिनेटर पोस्ट, क्र्यास ब्यारियर र थर्मोप्लास्टिक रोड मार्किङ जस्ता सडक सुरक्षासम्बन्धी संरचना पनि निर्माण गरिने छ । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले ठेक्का लागेर लामो समय रोकिएको सडक हाल काम सुरु भएकाले केही आशा जागेको बताउनुभयो ।  नगरपालिकाले राजारानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिरहेकाले उक्त क्षेत्रसम्म पुग्ने सडक निर्धारित समयमा नबन्दा नगरपालिकाले अपजस खेप्नु परेको नगरप्रमुख लावतीको भनाइ छ । 

उहाँका अनुसार नगरपालिकाले राजारानी क्षेत्रमा राजारानी पोखरी, राजकुमारी पोखरी, सुनाखरी अध्ययन केन्द्र, अन्तरधार्मिक शान्तिपार्कलगायतका गन्तव्य निर्माण गरिसकेको छ । ती क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण रहेको छ । त्यहाँ दैनिक करिब चार सय मानिस घुम्न पुग्छन् तर सुरक्षित सडक नहुँदा त्यसको अपजस नगरले लिनु परिरहेको छ । उहाँले सडक निर्माणले पर्यटन विकासमा भएको प्रगतिले आशा पलाएको बताउनुभयो ।