इटहरी ।  खाना पकाउने ग्यासको अभाव देखिएपछि धनकुटाका ग्यास डिलर तथा बिक्री केन्द्रहरुको अनुगमन गरिएको छ । ग्यासको अभाव भएका बेला बजारमा कालो बजारी हुनसक्ने भन्दा जिल्ला प्रशासन कार्यालय धनकुटाले बजारका डिलर तथा बिक्रि केन्द्रहरुको अनुगमन गरिएको हो ।  अनुगमन टोलिले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरुको अनुगमन गरको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको टोलिले अनुगमन गरेको हो ।  अनुगमनका क्रममा डिलरहरुमा ग्यासको आपुर्तिक कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्यले कम्पनीले भन्दा कोशी ग्यास डिलरले प्रयाप्त ग्यास नल्याएको, अभाव भएपछि सेवाग्रहीले संचय गरेको पाइएको सहायह प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । उहाँका अनुसार ग्यास कम आई रहेको साथै डिलरहरुबाट सेवग्राहीले आवश्यक भन्दाबढी ग्यास लगेका कारण पनि बजारमा ग्यसको अभाव पाइएको बताउनुभयो । यद्यपी आधा सिलिण्डर ग्यास आउँदा पटक पटक आई रहने हुँदा सहज भएको तर भरी आउँदा ढिला गरी आउँने हुँदा थप समस्या भएको पाइएको बताइएको छ । 

सेवाग्रहीलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नदिन समेत आग्रह गरिएको थियो । ग्यास डिलरहरुलाई ग्यास आउँदा प्रशासनलाई खबर गरी कति ग्यास आयो त्यो रेकर्ड बुझाउन भनिएको थियो । यस्तै सेवाग्रहीलाई पुग्नेगरी समानुपातिक वितरण गर्नसमेत आग्रह गरीएको थियो ।  ग्यासको अभाव देखिएपछि उपभोक्ताले पनि आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेको कोशी ग्यास डिलर गुठीटारका विक्रेता लेखबहादुर राईले बताउँनु भयो । उहाँका अनुसार आफूले कम्पनीले पाठाए अनुसार कम मात्रामा भएपनि ग्यास ल्याएर विक्रि गरी रहेको तर अन्य डिलरले त्यो भन्दा पनि कम ग्यास ल्याउँदा अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'केही डिलरले ग्यास ल्याउन नसक्दा अभाव सिर्जना भएको हो ।' कम्पनीले उत्पादन गरे अनुसार पर्याप्त नपाठाएको उहाँको भनाइ छ। यस्तै अनुगमनका क्रममा ग्यास डिलरबाट मात्रै ग्यास बिक्री वितरण गर्न निर्देशन दिइएको छ । एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउनसमेत डिलरलाई आग्रह गरिएको छ । डिलरहरुबाट सहज रूपमा ग्यास नसकेपछि उपभोक्ता किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको गुनासो आएकाले अनुगमनलाई तिब्रता दिईएको प्रशासनले जनाएको छ । ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन अनुगमन टोलीले विक्रेतालाई आग्रहसमेत गरेको थियो ।