ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी परिवारहरूलाई निस्सा वितरण गरेको छ । जग्गा व्यवस्थापन प्रक्रियाअन्तर्गत गाउँपालिकाले १ सय ८ घरपरिवारलाई निस्सा वितरण गरेको हो । गाउँपालिकामा १ सय २० जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये १२ घरपरिवारको कागजी तथा प्राविधिक प्रक्रिया पूरा नभएकाले हाल १ सय ८ घरपरिवारलाई सामूहिक रूपमा निस्सा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) जानकारी दिनुभयो ।  उहाँका अनुसार वडा नं। १ निगुरादिनमा ११ भूमिहीन सुकुम्बासी र १ अव्यवस्थित बसोवासी, वडा २ फुलवारीमा २६ भूमिहीन सुकुम्बासी र ५ अव्यवस्थित, वडा ३ हाङपाङमा ४ भूमिहीन सुकुम्बासी र ३९ अव्यवस्थित बसोवासीले निस्सा प्राप्त गरेका छन् । त्यसैगरी वडा ४ चाँगेमा ३ भूमिहीन सुकुम्बासी र ६ अव्यवस्थित बसोवासी तथा वडा ५ चाँगेमा १३ भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको अध्यक्ष पोमूको भनाइ छ ।  

निस्सा प्राप्त गर्न बाँकी रहेका सेवाग्राहीलाई गाउँपालिकाको अमिन शाखामा सम्पर्क गरी आवश्यक कागजात उपलब्ध गराएर प्रक्रिया अघि बढाउन अध्यक्ष पोमूले आग्रह समेत गर्नुभएको छ । उहाँका अनुसार अब प्रत्येक वडाबाट सात दिने दाबी–विरोध सूचना प्रकाशन गरिनेछ ।  त्यसपछि वडा कार्यालयबाट प्रमाणित कागजातका आधारमा गाउँ कार्यपालिकाले निर्णय गरी सिफारिससहित भूमि समस्या समाधान समितिमा पठाइनेछ ।  स्थानीय तहबाट गर्नुपर्ने सबै काम छिटो सम्पन्न गरी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानतर्फ गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष पोमूले बताउनुभयो ।