इटहरी । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा बिहानैदेखि यात्रुको चहलपहल सुरु हुन्छ । विभिन्न गन्तव्यतर्फ जाने सार्वजनिक सवारीसाधनले पुरानै स्थानबाट यात्रु चढाउने र ओराल्ने गर्छन् ।  बजारको कोलाहलभन्दा केही पर भने आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ बसपार्क सुनसान छ । चिल्ला पक्की पार्किङ, आकर्षक टर्मिनल भवन, अपाङ्गमैत्री शौचालय, बस विश्रामस्थल र गार्ड हाउससहितको बसपार्कमा न बसको आवाज सुनिन्छ, न यात्रुको चहलपहल देखिन्छ ।  करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको यो बसपार्क सञ्चालनमा नआउँदा अहिले प्रयोगविहीनजस्तै बनेको छ ।  कोशी प्रदेश सरकारको ७ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माण भएको म्याङ्लुङ बसपार्क औपचारिक उद्घाटन भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । स्थानीय नौ जनाले दान गरेको करिब १० रोपनी जग्गामा निर्माण गरिएको यो बसपार्क जिल्लाकै ठूला सार्वजनिक पूर्वाधारमध्ये एक हो ।  सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामार्फत निर्माण गरिएको बसपार्कको ठेक्का आशिष आशीर्वाद जेभीले पाएको थियो । निर्माण कम्पनीसँग २०७६ असारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ असारमा निर्माण सम्पन्न भएको हो ।  बसपार्कमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, पहुँचमार्ग, बस विश्रामस्थल, आरसीसी पार्किङ क्षेत्र र गार्ड हाउस निर्माण गरिएको छ ।  गत पुस ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बसपार्कको औपचारिक उद्घाटन गरेका थिए । उदघाटनकै अवसरमा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले बसपार्क म्याङ्लुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

उदघाटनका दिन केही सवारीसाधन बसपार्क पुगे पनि त्यसयता नियमित रूपमा सार्वजनिक सवारीसाधन सञ्चालन भएका छैनन् । यात्रुको चहलपहल नहुँदा बसपार्क अहिले खाली पार्किङ क्षेत्र, बन्द टर्मिनल भवन र सुनसान परिसरमा सीमित भएको छ ।  स्थानीय लालकुमार लिम्बू करोडौँ रुपैयाँ सरकारी लगानीमा निर्माण भएको संरचना प्रयोगमा नआउनु दु:खद भएको बताउँछन् ।

यात्रु नपुग्ने ठाउँमा बस लैजान व्यवसायी तयार छैनन्

बसपार्क सञ्चालनमा नआउनुको मुख्य कारण यसको अवस्थिति र पहुँचमार्गलाई मानिएको छ ।  यातायात व्यवसायी सरोज तामाङका अनुसार बसपार्क बजार क्षेत्रबाट केही टाढा छ । यात्रुका लागि सहज पहुँच नभएकाले व्यवसायीलाई नयाँ बसपार्कबाट सवारी सञ्चालन गर्न समस्या भएको उनी बताउँछन् । म्याङ्लुङ नगरपालिका–२ मा निर्माण गरिएको बसपार्कसम्म पुग्ने सडक पनि अझै साँघुरो छ । सडकको केही भाग कच्ची अवस्थामै छ ।  वर्षायाममा सडक हिलाम्मे हुने भएकाले ठूला सवारीसाधन सञ्चालन गर्न झनै कठिन हुने स्थानीय विश्वराज तुम्बाहाङ्फे बताउँछन् ।  उनका अनुसार बसपार्क निर्माणसँगै त्यससम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति पनि प्राथमिकतामा पर्नुपर्ने थियो । ‘बसपार्क बन्यो तर त्यससम्म पुग्ने सडकको अवस्था सुधार भएन । पहुँचमार्गमा पर्याप्त ध्यान नदिँदा आधुनिक सुविधासहितको बसपार्क बनेर पनि प्रयोगमा आउन सकेन,’ उनी भन्छन् ।

सञ्चालनको मोडालिटी नै स्पष्ट भएन

म्याङ्लुङ बसपार्कको अवस्था विकास निर्माणमा देखिँदै आएको एउटा पुरानै समस्याको उदाहरण बनेको छ । पूर्वाधार निर्माणमा करोडौँ रुपैयाँ खर्च गर्ने तर त्यसको सञ्चालन, व्यवस्थापन, पहुँच र प्रयोगको पूर्वतयारी नगर्ने प्रवृत्तिका कारण सार्वजनिक संरचना प्रयोगविहीन हुने गरेका छन् ।  म्याङ्लुङ बसपार्क पनि निर्माण सम्पन्न भएपछि सञ्चालनको स्पष्ट मोडालिटी तय गर्न, यातायात व्यवसायीसँग समन्वय गर्न, पहुँचमार्ग सुधार गर्न र यात्रुको सहज आवतजावत सुनिश्चित गर्न नसक्दा प्रयोगमा आउन नसकेको देखिन्छ ।बसपार्क निर्माणसँगै यातायात व्यवसायी, स्थानीय सरकार र यात्रुबीच आवश्यक समन्वय भएको भए अहिलेको अवस्था फरक हुन सक्ने स्थानीयको भनाइ छ ।  करोडौँ रुपैयाँ खर्च गरेर बनाइएको संरचना लामो समयसम्म प्रयोगविहीन रहँदा त्यसको संरक्षण र लगानीको प्रतिफलमाथि समेत प्रश्न उठेको छ ।  स्थानीय तहको कानुनअनुसार बसपार्क सञ्चालन तथा मर्मत–सम्भारको जिम्मेवारी म्याङ्लुङ नगरपालिकाको हो ।  नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फे भने दशैँपछि बसपार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउँछन् । उनका अनुसार त्यसका लागि सञ्चालनको ठेक्का प्रक्रिया अघि बढाउने, बसपार्कसम्म पुग्ने सडकको मर्मत तथा स्तरोन्नति गर्ने र नियमित रूपमा सार्वजनिक सवारीसाधन सञ्चालन हुने वातावरण तयार पार्ने तयारी छ ।

सञ्चालनमा आए बजारको ट्राफिक व्यवस्थापनमा सहज

नयाँ बसपार्क सञ्चालनमा आएपछि यात्रु सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । अहिले बजार क्षेत्रमै हुने बसको आवतजावत तथा यात्रु चढाउने–ओराल्ने क्रम व्यवस्थित हुँदा म्याङ्लुङ बजारको ट्राफिक व्यवस्थापनमा समेत सहजता आउने स्थानीयको अपेक्षा छ । बसपार्क सञ्चालनले बजार विस्तारमा समेत सहयोग पुग्ने उनीहरू बताउँछन् ।