इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र चतरा सडक खण्डमा चार सय अठार किलोग्राम गाँजा फेला परेको छ । गाँजा ओसार्ने सवारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।  शनिबार जिल्लाको बराहक्षेत्र नगरपालिका वडा–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागू औषध गाजाँ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार प्र.१–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६०१ नम्बरको मोटरसाईकलमा गाँजा बरामद भएको हो ।   कार र मोटरसाईकललाई रोकी चेकजाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा ४१८ के.जि.बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार बराहक्षेत्र चतरा सडक भएर गाजाँ ओसार पसार तथा कारोवार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा तर्फ आउँदै गरेको प्र.१–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६०१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा लागू औषध गाँजा चार सय अठार किलोग्राम फेला परेको हो ।

उक्त लागू औषध, कार र मोटरसाईकल सहित  कार चालक सुनसरीको धरान उप–महानगरपालिका वडा–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा–५ का २२ वर्षीय जीवनी राई, मोटरसाईकल चालक मोरङ कटहरी गाउँपालिका वडा–३ का २६ वर्षीय अमर कामत र पछाडी सवार ३८ वर्षीय शंकर चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको खड्काले जानकारी दिनुभयो ।  सुनसरीको धरान उप–महानगरपालिका वडा–११ रिटिङ टोलस्थित कृष्ण राईको घरमा ब्राउन सुगर बरामद भएको छ ।  लागू औषध कारोवार भईरहेको सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीलाई देखेर कृष्ण राई फरार भएको र उहाँको घरमा बसिरहेका ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र २४ वर्षीया स्वस्तिका गुरुङलाई खानतलासी तथा चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर ०.९३ ग्राम फेला परेको हो ।  लागू औषध सहित तीनैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको । साथै फरार भएका कृष्ण राईको खोजतलास गर्ने कार्य समेत भईरहेको खड्काले जानकारी दिनुभयो ।