इटहरी । मोरङको पथरीशनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा सञ्चालित ५२ औँ ब्याच जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एन.सी.सी.) संस्थागत तालिमको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठले तालिमको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो। सो क्रममा श्रेष्ठले एन.सी.सी. तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी विरदत्त पन्तले यस्ता शारीरिक व्यायाम तथा तालिमले विद्यार्थीलाई समाजसेवा र राष्ट्रसेवामा समर्पित हुन प्रेरित गर्ने बताउनुभयो।

त्यसैगरी, विद्यालयका प्राचार्य टि.एन. तिम्सिनाले एन.सी.सी. तालिमले विपद् व्यवस्थापन र कार्यक्षमता बढाउन सहयोग पु¥याएको उल्लेख गर्नुभयो। कार्यक्रममा सिनियर सुवेदार मिगेन्द्र प्रसाद दाहाल, जनप्रतिनिधिहरू चन्द्रकुमार राई र खिलनाथ घिमिरे, विद्यालय सञ्चालक समितिका बुद्वीनाथ अधिकारी तथा राजु तिम्सिना, शिक्षक, अभिभावक र क्याडेट विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा १५ छात्रा र १५ छात्र गरी ३० जना एन.सी.सी. क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा आकर्षक ड्रिल प्रदर्शन गरेका थिए ।