झापा : झापामा राष्ट्रिय परिचयपत्र प्रयोग गरी मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पुनः सुरु गरिएको मतदाता नामावली संकलन अभियानमा थपिएका नयाँ मतदातामध्ये अधिकांशले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार चैत २२ गतेदेखि बिहीबारसम्म १० हजार ३५९ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये सात हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्रमार्फत र दुई हजार ५५८ जनाले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर नाम दर्ता गराएका हुन्।
थपिएका नयाँ मतदातामा पाँच हजार ३३३ पुरुष र पाँच हजार २६ महिला छन्।
जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि झापामा सात लाख १३ हजार ५३७ मतदाता थिए। तीमध्ये तीन लाख ५५ हजार १८३ महिला र तीन लाख ५८ हजार ३६४ पुरुष थिए। राष्ट्रिय परिचयपत्रको प्रयोगले मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सहज बन्दै गएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी नेपालले योग्य नागरिकलाई समयमै मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गर्दै निर्वाचनका लागि सही र अद्यावधिक मतदाता नामावली आवश्यक हुने बताए।
यसैबीच, निर्वाचन आयोगको निर्णयअनुसार असोज १ गतेदेखि मसान्तसम्म स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ र मृत्यु भएका व्यक्तिको विवरण वडा तहबाटै अद्यावधिक गर्ने व्यवस्था लागू हुँदैछ। त्यसका लागि संघीय सरकारले स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिइसकेको छ।


