इटहरी । मोरङको सुन्दरहरैँचा–१० मा रहेको हिमालय इङलिस स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत शिक्षक तथा शिक्षिकाका लागि साइबर सुरक्षा, गुड टच–ब्याड टच लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय, प्रहरी, समुदाय तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सुरक्षा र उनीहरूलाई विभिन्न प्रकारका जोखिमबाट जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन जोखिम पनि बढ्दै गएको भन्दै शिक्षक तथा अभिभावकले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विषयमा सचेत गराउनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण, फोटो तथा पासवर्डको सुरक्षामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। त्यस्तै, बालबालिकामाथि हुन सक्ने दुव्र्यवहार पहिचान गर्न गुड टच र ब्याड टच सम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
बालबालिकाले आफूलाई असहज लाग्ने व्यवहारबारे खुलेर बताउन सक्ने वातावरण विद्यालय र घरमा निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सुन्दरहरैँचा नगर बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालले बालबालिकाको सुरक्षा केवल प्रहरी वा विद्यालयको मात्र जिम्मेवारी नभई परिवार, समुदाय, विद्यालय र सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो । बालबालिकाले आफ्ना समस्या तथा गुनासा निर्धक्क रूपमा राख्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। त्यस्तै, हिमालय इङलिस स्कुलका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको सुरक्षा र सामाजिक चेतनालाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बतानुभयो ।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रमले शिक्षक–शिक्षिका तथा विद्यार्थीलाई सुरक्षा, साइबर सचेतना र बालअधिकारका विषयमा थप जानकारी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । प्रशिक्षणका क्रममा शिक्षक तथा शिक्षिकालाई साइबर अपराधबाट बच्ने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी तथा जोखिम, बालबालिकामाथि हुने दुव्र्यवहारको पहिचान, गुड टच–ब्याड टच तथा बाल सुरक्षा लगायतका विषयमा जानकारी दिइएको थियो। विद्यालय र प्रहरीबीचको सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि विद्यार्थी तथा शिक्षकका लागि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ।


