इटहरी। सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह नजिकै बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  गएराति करिब ५ः३० बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरी राखिएको अवस्थामा ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीया जिबनी राई रहेका छन्।  त्यसैगरी मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३८ वर्षीय शंकर चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। बरामद गाँजा, कार र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।