इटहरी । धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी व्यवस्थापनदेखि व्यवसायीको हित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र लगानी प्रवद्र्धनसम्म उल्लेखनीय काम गरेको जनाएको छ।
नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिँदै गर्दा संघको वर्तमान कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेको हो। धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालको सुरुवात विश्वव्यापी कोभिड–१९ महामारीको चुनौतीबीच भएको स्मरण गर्दै महामारी नियन्त्रण र व्यवसायीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। संघका अध्यक्ष विजय सन्तोष राईका अनुसार महामारीका बेला मास्क, सेनिटाइजर, फेस सिल्ड, पीपीई र थर्मोगन लगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत आवश्यक सहयोग गरिएको थियो।
महामारीका बेला सामाजिक दूरी कायम गराउन बजार व्यवस्थापन, अत्यावश्यक खाद्यान्न घरघरमा पु¥याउने व्यवस्था, व्यवसायीको पीसीआर परीक्षण तथा उपचारमा सहजीकरण, घरभाडा छुटका लागि घरधनीसँग समन्वय र बैंक तथा वित्तीय संस्थासँग ब्याज सहुलियतका विषयमा पहल गरिएको संघले जनाएको छ। त्यसैगरी करदाता सेवा केन्द्र सञ्चालन, कर शिक्षा कार्यक्रम, ढक–तराजु दर्ता तथा नवीकरण शिविर, बजार सुरक्षाका लागि सीसीटीभी जडान, स्थानीय उत्पादनको बजारीकरण, धनकुटा महोत्सव आयोजना तथा विपद्का बेला राहत वितरण जस्ता कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी दिइएको छ। संघले व्यापार, पर्यटन, कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग निरन्तर समन्वय गर्दै धनकुटामा लगानीमैत्री वातावरण निर्माणका लागि समेत पहल गरेको जनाएको छ।
धनकुटा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आगामी भदौ ६ गते निर्वाचन हुने भएको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै उम्मेदवारी दर्तादेखि मतदानसम्मका तयारी अघि बढाइएको निर्वाचन समितिले जनाएको छ। आगामी तीनवर्षे कार्यकालका लागि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ।


