मोरङ : मोरङको उर्लाबारीमा इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना इलेक्ट्रिसियन गम्भीर घाइते भएका छन्। बिहीबार राति करिब ८स्३० बजे उर्लाबारी नगरपालिका–३, नमुना मार्गस्थित कृष्णप्रसाद खतिवडाको घरमा बिग्रिएको इन्भर्टर मर्मत गर्ने क्रममा उर्लाबारी–१ निवासी २९ वर्षीय खेमराज आचार्यलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि बेहोस भएका आचार्यलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति ९स्२० बजे विराटनगरस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
घटनापछि इलाका प्रहरी चौकी मंगलबारेबाट प्रहरी निरीक्षक जनक धानुकको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि घरधनी कृष्णप्रसाद खतिवडालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र करेन्ट लाग्न पुगेको अवस्थाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।


