इलाम : इलाम सदरमुकामसहित उत्तरी इलाममा करिब एक सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ताको जनजीवन प्रभावित बनेको छ। ग्यास नपाउँदा विशेषगरी सदरमुकाममा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइमा परेका छन्। उपभोक्ताका अनुसार मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि करिब एक महिनादेखि इलाममा ग्यासको आपूर्ति प्रभावित हुँदै आएको छ। वैकल्पिक सडकमार्फत साना सवारीसाधनबाट सीमित परिमाणमा ग्यास ल्याइए पनि पछिल्लो एक सातादेखि भने आपूर्ति पूर्ण रूपमा ठप्प भएको ग्यास व्यवसायीहरूको भनाइ छ। सदरमुकाममा बस्दै अध्ययन गरिरहेका विद्यार्थी सुमन तामाङले ग्यास अभावका कारण दैनिक जीवन नै अस्तव्यस्त बनेको बताए। उनले भने, इलामका ग्यास व्यवसायी खम्बासिंह पौडेलका अनुसार यसअघि ग्यास कम्पनीले मासिक करिब ४०० सिलिन्डर उपलब्ध गराउँदै आएकोमा अहिले १३० सिलिन्डर मात्र पठाउने गरेको छ।
उनका अनुसार ग्यास अभावका कारण धेरै विद्यार्थी कोठा छाडेर घर फर्किन थालेका छन् भने केहीले इन्डक्सन चुलोको सहारा लिएर दैनिक गुजारा चलाइरहेका छन्। तर सबै उपभोक्ताको पहुँचमा इन्डक्सन चुलो नहुँदा अधिकांश परिवार समस्यामा परेका छन्। ग्यास अभावसँगै इलाम सदरमुकाममा तरकारी, फलफूल तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ। हाल आलु र गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, प्याज ९० रुपैयाँ, भिन्डी १६० रुपैयाँ तथा करेला ८० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी आँप प्रतिकिलो २५० रुपैयाँ, स्याउ ३२० रुपैयाँ र केरा प्रतिदर्जन १२० देखि १५० रुपैयाँसम्म पुगेको उपभोक्ताहरूले बताएका छन्। व्यवसायीहरूका अनुसार मुख्य मेची राजमार्ग एक महिनादेखि अवरुद्ध रहेकाले गाउँबाट तरकारी तथा अन्य उपभोग्य सामग्रीको आपूर्ति घटेको छ। वर्षाका कारण वैकल्पिक सडकहरू पनि पटक–पटक अवरुद्ध हुँदा ढुवानी सहज हुन सकेको छैन।
बिहीबार र आइतबार लाग्ने इलाम बजारको हटियामा समेत पर्याप्त तरकारी आउन नसक्दा मागअनुसार आपूर्ति हुन सकेको छैन। आइतबार सार्वजनिक बिदा परेकाले हटियाको कारोबार पनि प्रभावित भएको र गाउँबाट तरकारी कम आएकाले बजारमा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। सदरमुकामसँगै विल्याँटे, पुवाखोला र नेपालटारलगायतका बजारमा चामल, खानेतेल तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ। चामलको मूल्य प्रतिवोरा १५० देखि २०० रुपैयाँसम्म बढेको छ भने सूर्यमुखी खानेतेल प्रतिलिटर ३०० रुपैयाँ पुगेको स्थानीय व्यवसायीहरूले बताएका छन्। यसैबीच, उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले ग्यास अभाव समाधानका लागि ग्यास डिलर तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए। उनका अनुसार सडक अवरुद्ध भएकाले आपूर्ति प्रणाली प्रभावित भएको हो। सडक सञ्चालनमा आएपछि ग्यासको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको उनले बताए। स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्न माग गरेका छन्।


