मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ४ बजे कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवार बेपत्ता भएका थिए। साँझ करिब ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए। त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उनका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही दहबाट बालकलाई बाहिर निकाले पनि घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रमाइलोबाट प्रहरी नायब निरीक्षक सदानन्दकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी निरीक्षक भीमलाल राईको नेतृत्वमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ। प्रहरीले राति कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे पठाएको जनाएको छ।


