इटहरी :  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, आधुनिक प्रविधिको अधिकतम प्रयोग र सेवामुखी प्रहरी व्यवहारमा विशेष जोड दिएका हुन्।  राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको बिहीबार निरीक्षणका क्रममा डीआईजी खनालले दैनिक ट्राफिक जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्ने तथा मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कडा कारबाही गर्न आग्रह गरे।  उनले राडर गन, सिसीटिभी, मापसे तथा लागुऔषध परीक्षण कीटजस्ता आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन निर्देशन दिए। दुर्घटना न्यूनीकरणका लागि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन भए–नभएको, सरकारले तोकेको भाडादर पालना गरिएको, आरक्षण सिटको व्यवस्था तथा टाइमकार्ड प्रणाली प्रभावकारी रूपमा लागू भए–नभएको नियमित अनुगमन गर्नुपर्नेमा उनले जोड दिए।  डीआईजी खनालले ट्राफिक जाँचका क्रममा नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी वा असहजता नहुने गरी शिष्ट, मर्यादित र सेवामुखी व्यवहार अपनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिए।

निरीक्षणका अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले कोशी प्रदेशमा ट्राफिक जनशक्ति परिचालन, सेवा प्रवाह, राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनका वर्तमान अवस्था तथा चुनौतीबारे जानकारी गराएका थिए।  कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत, मोरङ र सुनसरीमा कार्यरत ट्राफिक प्रहरी अधिकृत तथा ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।