इटहरी। कोशी राजमार्ग हुँदै पहाडबाट तराईतर्फको यात्रा गर्दा तमोर नदीको पुल तर्नेबित्तिकै प्रायः यात्रुवाहक सवारीसाधन एकैछिन रोकिन्छन् । रोकिएको सवारीसाधनलाई उखु विक्रेताको भिडभाडले घेर्छ । विक्रेता भेला भएर उखुको खरिद गर्न गाडीका यात्रुलाई अनुरोध गर्छन् । बिहानदेखि बेलुकासम्म सधैँ यही व्रmम चल्छ ।   कोशी राजमार्ग अन्तर्गत धनकुटास्थित तमोर नदी किनारमा मूलघाट बजार रहेको छ । नदीको एकातर्फको भूभाग साँगुरीगढी गाउँपालिका वडा नम्बर १ पर्छ । अर्कोतर्फ भने धनकुटा नगरपालिका वडा नम्बर ९ पर्छ । दुवैतर्फका  गरी एक सयभन्दा बढी व्यापारीले उखुलगायत सिजन अनुसार उत्पादन हुने कृषिजन्य उत्पादन बिक्रीगर्दै आएका छन् ।  अधिकांश विव्रmेताले लेउतीखोला पारिको उखुडाँडाबाट उखु ल्याएर बिक्री गर्दै आएका छन् । यहाँ दैनिक दुई हजारदेखि पाँच हजारसम्मको बिक्री हुने गरेको व्यापारी विन्द्रमान लिम्बू बताउनुहुन्छ ।  धनकुटा कोशी राजमार्ग आसपासका कृषकका लागि राजमार्ग नै ठुलो बजार बनेको छ । धेरैले राजमार्ग आसपास उत्पादन गर्छन् अनि राजमार्गमै बिक्री गर्छन् । धरान–धनकुटा र धनकुटा–हिले सडकखण्डलाई यहाँका किसानले आफ्ना कृषि उपज बिक्री गरेर जीविकोपार्जन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएका गुठीटारका व्यापारी पद्मबहादुर राई बताउनुहुन्छ । राजमार्गको भेडेटारदेखि धनकुटाकै व्यापारिक केन्द्र हिले बजारसम्मको करिब ४५ किलोमिटर सडकक्षेत्रमा अहिले दर्जनौँ किसानले व्यापार गरेर जीवन गुजारा गर्दै आएका छन् । 

धनकुटा नगरपालिका–९, मूलघाटका नवीन घिमिरे धनकुटा र हिले बिचमा बाहै्र महिना तरकारीको व्यापार हुने बताउनुहुन्छ । तिहार आसपास फूलको व्यापार हुन्छ । धनकुटा नगरपालिका–९ स्थित धरान–धनकुटा सडकखण्डमा पर्ने गुठीटार क्षेत्रको विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी किसान परिवारले टमाटर (गोलभेँडा) बेच्ने गरेका कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना बताउनुहुन्छ । सोही वडामा रहेको टमाटरको पकेट क्षेत्र बेलहरा गाउँमा आफू र गाउँलेले उत्पादन गरेको टमाटर बेच्ने गरेको उहाँको भनाइ छ ।  धनकुटा नगरपालिकाको मूलघाट आँप र सजिवन (मोरिङ्गा) को पकेट क्षेत्र हो भने गाउँपालिकाको लेउतीटार उखुडाँडा उखुको पकेट क्षेत्र हो । मूलघाटमा सिजन अनुसार आँप, उखु, बेल, सजिवन आदिको व्यापार हुन्छ । मूलघाटदेखि भेडेटारसम्म पनि फलफूल र तरकारीको व्यापार हुने गरेको स्थानीय बताउँछन् ।  पछिल्लो समय यहीको व्यापारको तरिका देखेर मध्य पहाडी राजमार्ग तथा तमोर कोरिडोरलगायतका सडकमा समेत बिक्रीवितरण हुन थालेको छ ।