इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एमडी ३२५, नेपाल अन्तर्गतको लायन्स क्लब अफ तरहरा सोशलको आयोजनामा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम बुधबार इटहरीस्थित गोर्खा होटलमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरिया (एमजेएफ) प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन विकास अधिकारी (पीएमजेएफ)ले नयाँ सदस्यहरूलाई लायन्सको इतिहास, उद्देश्य, संरचना, भूमिका र सेवामूलक गतिविधिबारे प्रशिक्षण दिनुभयो । उहाँले लायन्सको मूल मन्त्र “वी सर्भ” लाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा एरिया चिफ दुर्गा प्रसाद पौडेल, एरिया कोअर्डिनेटर भूपराज पुरी, गाइडिङ सुरेश प्रसाद धमला, लायन्स क्लब अफ इटहरी न्यू भिजनका अध्यक्ष लायन युवराज काफ्ले, लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष दीपक पुरी तथा लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुश ढुङ्गेल लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबकी सचिव गायत्री पुरीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरियाले लायन्सको शक्ति सदस्यहरूको सक्रियता र सेवा भावमा निर्भर रहने उल्लेख गर्दै नयाँ सदस्यहरूलाई निरन्तर सिक्दै समाजका आवश्यकता अनुसार सेवामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । अध्यक्ष मुक्तिनाथ घिमिरेले क्लबमा आबद्ध भएका नयाँ सदस्यहरूको स्वागत गर्दै अभिमुखीकरण कार्यक्रमले लायन्सको मूल्य, उद्देश्य र जिम्मेवारीबारे स्पष्ट बुझाइ दिलाएको बताउनुभयो । उहाँले आगामी दिनमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले प्रशिक्षणबाट लायन्सको कार्यशैली, संगठनात्मक संरचना तथा सेवामूलक अभियानबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले नयाँ सदस्यहरूलाई जिम्मेवार, सक्रिय र प्रभावकारी लायनका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


