सुनसरी । सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ। समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् भने सम्बन्धित नियामक निकायहरू मौन रहेको गुनासो बढेको छ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषि सहकारी तथा बिक्री डिपोहरूमा यतिबेला युरिया र डीएपी मलको अभाव देखिएको छ। धानबालीका लागि अत्यावश्यक रासायनिक मल पाउन कठिन भएपछि किसानहरू समस्यामा परेका छन्। मल खरिदका लागि रातिदेखि वा बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ भने कतिपय स्थानमा विवाद र झडपसमेत हुने गरेको स्थानीयहरू बताउँछन्।
इनरुवाका किसान रामदेव मेहताले भने, “धानमा मल हाल्ने मुख्य समयमा नै सहकारीमा मल छैन भन्छन्। पालो पाइन्छ कि भनेर दिनभर लाइन बस्दा पनि रित्तै फर्किनुपरेको छ।” उनले किसानको समस्याप्रति सरकारले गम्भीरता नदेखाएको आरोप लगाए। सहकारी तथा अधिकृत विक्रेताहरूले कोटाअनुसारको मल समयमै प्राप्त नभएको बताएका छन्। उता, खुला बजारमा कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा मल बिक्री भइरहेको किसानहरूको आरोप छ। स्थानीय प्रशासन र कृषि ज्ञान केन्द्रलगायतका नियामक निकायले बजार अनुगमन र मल वितरणलाई प्रभावकारी बनाउन ठोस पहल नगरेको भन्दै किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
किसानहरूले समयमा मल उपलब्ध नभए यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउन सक्ने र खाद्यान्न उत्पादनसमेत प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल पर्याप्त रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारीमा संलग्नमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


