सोलुखुम्बु : सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–१ लुदुका २३ वर्षीय निरबहादुर विश्वकर्मा रहेका छन्। उनीमाथि आफ्नै ५० वर्षीय हजुरबुबा कृष्णगोपाल विश्वकर्मालाई कुटपिट गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साउन १८ गते कृष्णगोपाल नाति निरबहादुरको घरमा न्वारन पूजामा सहभागी हुन गएका थिए। सोही क्रममा उनीहरूबीच विवाद हुँदा निरबहादुरले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कृष्णगोपाललाई तत्काल नुनथला स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो।
उपचारकै क्रममा साउन १९ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको टोलीले आरोपित निरबहादुरलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


