इटहरी। तराईबाट धनकुटा हुँदै भोजपुर र सङ्खुवासभा जोड्ने सबैभन्दा छोटो दुरीमा निर्माणाधीन अरुणको निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको ६५ किलोमिटर सडक निर्माणले तीव्रता पाएको हो ।  अरुण कोरिडोर सडक सुनसरीको चतरामा पर्ने कोशी पुलदेखि धनकुटाको सहिदभूमि गाउँपालिका, पाख्रीबास नगरपालिकास्थित माङ्मायाडाँडासम्म निर्माण भइरहेको छ ।   आयोजना अन्तर्गत ६५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी करिब एक अर्ब रुपियाँ लागतमा ४५ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढेसँगै तीव्रता पाएको छ । निर्माणाधीन उक्त सडक धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रीबास नगरपालिकाभित्र पर्ने करिब ३५ किलोमिटर क्षेत्रमा प्रारम्भिक ट्र्याक खोल्ने काम भइरहेको छ । ट्र्याकसँगै सडक १० मिटर चौडा बनाइरहेको आयोजनाले जनाएको छ । अरुण कोरिडोरको करिब २२ किलोमिटरमध्ये १० किलोमिटर सडक तमोर कोरिडोरसँगै जोडिएर निर्माण हुने आयोजना प्रमुख मनिषमान शाक्यले बताउनुभयो । उहाँका अनुसार बाँकी सडक खण्डभित्र पर्ने पुल निर्माण गर्नुपर्ने स्थान र डिजाइन अन्तिम भएपछि निर्माणको काम थप तीव्र बनाइने बताउनुभयो । 

आयोजनाको सबैभन्दा महìवपूर्ण संरचना भनेकै धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकालाई जोड्ने त्रिवेणीस्थित तमोर नदीमाथिको पक्की पुल रहने उहाँले बताउनुभयो । उक्त पुलको स्थान र डिजाइन स्वीकृत भएपछि बाँकी सडकखण्डको निर्माणले समेत गति लिने अपेक्षा गरिएको छ ।  उक्त निर्माण अरुण कोरिडोर सडकभित्र पर्ने तमोर नदीसहित ११ स्थानमा मोटरेबल पक्की पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख शाक्यका आनुसार तमोर, अँधेरी, छाम्लाङ, धुसेनी, मङ्ग्सुवा, सुनाखानी खहरे, लेदे, मुगा र निबुखोलालगायतका खोलामा २० देखि ४० मिटर लम्बाइका पुल निर्माण गर्ने योजना रहेको बताउनुभयो । तीमध्ये केही पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत भइरहेको आयोजनाले जनाएको छ । सडक निर्माणपश्चात् सञ्चालनमा आएपछि स्थानीयलाई धेरै राहतसमेत हुने छ । अरुण कोरिडोर सञ्चालनमा आएपछि भोजपुर, सङ्खुवासभा तथा धनकुटाको महालक्ष्मी र पाख्रीबासका बासिन्दाले ठुलो राहत पाउने महालक्ष्मी नगरपालिका–२, चानुवाका स्थानीय वीरबहादुर विश्वकर्माले बताउनुभयो । अहिले प्रयोग हुँदै आएको कोशी राजमार्गको करिब १२५ किलोमिटर यात्रा छोटिएर ६५ किलोमिटरमा यात्राले यातायात र ढुवानी खर्चसमेत बच्ने छ । निर्माणाधीन सडकको बिच बिचमा स्थानीयका घर परेकाले केही स्थानमा ट्र्याक खोल्ने कामसमेत प्रभावित भएको छ । 

सडक निर्माणका व्रmममा देखिएका समस्या समाधान गर्नुका साथै समन्वयका लागि प्रशासनले आवश्यक सहजीकरण गरिरहेको धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । समयमै सम्पन्न गर्न प्रशासनले स्थानीय तह, आयोजना र सरोकारवालाबिच समन्वय गर्दै निर्माणका व्रmममा आउने अवरोध हटाउने काम गरिरहेको उहाँले बताउनु्भयो । अहिले धरान–भेडेटार–मूलघाट–धनकुटा–हिले–पाख्रीबास–घोर्र्लिक हुँदै माङ्मायाडाँडासम्म पुग्न करिब १२५ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । उक्त अरुण कोरिडोर सडक सञ्चालनमा आएपछि भने ६५ किलोमिटर मात्रै यात्रा गर्दा पुगिन्छ । जसले गर्दा तराईसम्म पुग्न भोजपुर, सङ्खुवासभा र धनकुटाका स्थानीयलाई थप सहज र छिटो हुने छ ।