इटहरी । पहिरोका कारण दिक्तेल–भोजपुर सडकको यात्रा थप कष्टकर बनेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खामा सडक माथिबाट खसेको पहिरोले यात्रुलाई सास्ती भएको हो। माम्खास्थित मेवा खोला र काली खोलाको बिचमा साउन ३ गते सडक माथिबाट पहिरो खसेको थियो। साउन ४ गते नै पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गरिएको सडक डिभिजन कार्यालय हर्कपुरले जनाएको छ। तर अहिले पनि बेलाबेलामा पहिरो झरिरहँदा यात्रामा समस्या हुने गरेको छ। पहिरोले करिब ५० मिटर कालोपत्रे सडक पुरेपछि वैकल्पिक सडक निर्माण गरिएको थियो। तर वैकल्पिक सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने गरेका कारण यात्रुले थप सास्ती व्यहोर्नुपरेको छ। साउन १८ गते राति पुनः झरेको पहिरोले कालोपत्रे सडक पुरेको थियो। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको थियो। सो क्रममा साउन १९ गते बिहान भोजपुरबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस करिब पाँच घण्टा फसेको थियो।
सडक डिभिजन कार्यालय हर्कपुरको जेसिबीको सहयोगमा फसेको बस दिउँसो साढे ११ बजे निकालिएको कार्यालयका सब–इन्जिनियर मधुलाल बास्तोलाले बताउनुभयो। बससँगै विद्यालय बस, टिपर, ट्रक र मोटरसाइकलमा सवार यात्रुसमेत अलपत्र परेका थिए। पहिलो पटक साउन ३ गते सडकभन्दा करिब दुई सय मिटर माथिबाट पहिरो खसेको उहाँले बताउनुभयो। पहिरो पन्छाएर सडक खुलाए पनि वर्षा हुँदा पुनः पहिरो खसेर सडक अवरुद्ध हुने गरेको सब–इन्जिनियर बास्तोलाले जानकारी दिनुभयो। स्थायी रूपमा पहिरो व्यवस्थापनका लागि सम्बन्धित निकायले छिटो प्रक्रिया अघि बढाउनुपर्ने यात्रुहरूको माग छ। मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा भञ्ज्याङ–सेखुवा १० किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी छ। हिलाम्मे उक्त सडकमा सवारीसाधन फस्ने गरेका कारण यात्रा कठिन हुने गरेको छ। मेवा खोलानजिक खसेको पहिरोले उक्त सडकखण्डको यात्रा थप जोखिमपूर्ण बनाएको हो।
यस्तै, दिक्तेल–भोजपुर सडकअन्तर्गत पंखु खोलामा निर्माणाधीन पक्की पुल अलपत्र हुँदा खोलाले पनि बेलाबेलामा यात्रामा अवरोध गर्ने गरेको छ। पंखु खोलामा बेलिब्रिज निर्माण र बाँकी रहेको १० किलोमिटर सडक कालोपत्रेका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय रामेछापले ठेक्का आह्वान गरेको छ।


