इटहरी । तरहराको युनाइटेड क्लब अफ तरहराले ‘तरहरा कप २०८३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। बुद्धचोकस्थित बहुभाषी खेलमैदान, तरहरामा साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरू दैनिक दिउँसो ३ बजेदेखि सुरु हुनेछन्।
प्रतियोगितामा पूर्वाञ्चल युनाइटेड क्लब ९मोरङ०, मधेशा फुटबल क्लब ९इनरुवा०, शुभ बिहानी क्लब ९रामधुनी०, युनाइटेड क्लब अफ तरहरा ‘ए’, शान्तिनगर एफसी ९इटहरी०, सतिसाले स्पोर्ट्स क्लब ९मोरङ०, एपीएफ पकली र युनाइटेड क्लब अफ तरहरा ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट खेलाडीलाई जनही दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
‘मैदानमा संघर्ष, इतिहासमा नाम, स्वस्थ समाज हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको विकास, युवामा खेल संस्कृतिको विस्तार तथा कुलतभन्दा खेलकुदतर्फ प्रेरित गर्ने सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ।


