इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले एक साता यता तीव्र कटान गरिरहेको छ । चिलैया, गरैया क्षेत्रमा नदीले दैनिक जमिन कटान गर्न थालेपछि करिब छ सय घरपरिवार जोखिममा परेका छन् ।
टापु संरक्षणका लागि गत हिउँदमा निर्माण गरिएका १८ वटा तारजालीसहितका ढुङ्गाको स्परसमेत नदीको कटानमा परेर डुब्न थालेका छन् । स्थानीय बद्री राईका अनुसार असारदेखि नै सामान्य कटान सुरु हँुदै आएको थियो । नदीले बलौटे माटो बढी बगाउने भएकाले कटान झन् तीव्र हुँदा चिलैया क्षेत्रमा लगाइएका ढुङ्गासहितको तारजालीसमेत नदीमा डुब्दै गएको छ । स्थानीय सन्तोष चन्द्रवंशीका अनुसार चिलैया र गरैया क्षेत्रमा दैनिक जसो कटान भइरहेको छ । नदीले कटान सुरु गरेपछि कतिबेला बस्तीमा आइपुग्छ भन्ने चिन्ता थपिँदै गएको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कटानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरी श्रीलङ्का टापुमा भइरहेको कटानबारे तत्काल आवश्यक संरक्षणका लागि कोशी परियोजनालाई जानकारी गराइसकिएको बताउनुभयो । उहाँका अनुसार गत हिउँदमा बर्खायामको कटान नियन्त्रण गर्ने उद्देश्यले चिलैया र गरैया क्षेत्रमा १८ वटा तारजालीसहितका ढुङ्गा भरिएका स्पर निर्माण गरिएको थियो । अहिले तीमध्ये केही स्पर नदीको कटानमा परेर डुब्न थालेका छन् । कटान नियन्त्रणका लागि थप संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
सप्तकोशीको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टापु पाँच दशकअघि नदीले धार परिवर्तन गरेपछि बनेको भूभाग हो । हाल सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाको २ र ३ मा पर्ने टापुमा तीन हजारभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको छ । अधिकांश स्थानीय कृषि र पशुपालनमा निर्भर छन् । मकै, बेसार, टमाटर, बोडीलगायत तरकारी खेती तथा पशुपालन यहाँको मुख्य आम्दानीको स्रोत हो ।
स्थानीय बालक चन्द्रवंशीका अनुसार बर्सेनि दोहोरिने कटानले खेतीयोग्य जमिनसँगै बस्तीसमेत जोखिममा पर्दै आएको छ । गत वर्ष कटानका कारण केही स्थानीयले घरसमेत सुरक्षित स्थानमा सार्नु परेको थियो । यस वर्ष पनि कटान तीव्र बन्दै गएपछि बस्तीमा त्रास बढेको उहाँले बताउनुभयो ।


